कञ्चनपुर । अढाई दशक अघि विस्थापित भएका कञ्चनपुरका आरक्षपीडित फेरी आन्दोलित भएका छन । नयाँ सरकार गठन भएको एकसय दिन पछि सोमबारदेखि आरक्षपीडित आन्दोलित भएका हुन । उनीहरुले अस्थायी र स्थायी दुवै व्यवस्थापनको माग अघि सारेर बिरोध प्रर्दशन, धर्ना, जुलुसमा उत्रिएका छन ।

गत कार्तिकमा भीमदत्त नगरपालिका ४महेन्द्रनगर डिभिजन वन कार्यालय अगाडी बसेका पीडितले तत्तकाल अस्थायी बसोबास र क्रमिक रुपमा दिर्घकालिन रुपमा समाधानको माग अघि सारेर आन्दोलनमा उत्रिएका हुन ।

आरक्षपीडितले अढाई दशकदेखि आफुहरुका समस्या उस्तै रहेको दल, नेताहरुले चुनावका बेला समस्या समाधान गर्ने आश्वासन दिने तर, चुनाव जितेपछि वेवास्ता गर्ने प्रवृतिले आफुहरुका समस्या उस्तै रहेको दुखेसो पोखेका छन ।

आरक्षपीडित संघर्ष समितिका सहसचिव कृष्ण भट्टले महेन्द्रनगरमा बसेको स्थानमा बर्षातले बस्न समस्या भएकाले त्यहाँबाट अर्को व्यवस्था नहुँदासम्म अस्थायी बसोबासको माग अघि सारेर प्रशासनमा पटक पटक निवेदन दिदा समेत आफुहरुको समस्या बुझ्ने समेत प्रयास नभएको हुँदा आफुहरु आन्दोलित भएको बताए ।

दैनिक बजारमा बिरोध प्रर्दशन, प्रशासनमा धर्ना, जुलुस गरेर सरकारलाई आफुहरुका पीडा सुनाउन लागेको बताए । आरक्षपीडित संघर्ष समितिका अध्यक्ष जय बहादुर रोकायाले राज्यले आफुहरुसंग गर्नुसम्म अन्याय गरेको बताए ।

अध्यक्ष रोकायाले सरकारले आफुहरुका पीडा नबुझेको भन्दै सरकार सामु आत्मदाहको चेतावनी दिएका छन । उनले सरकारले नै २५ बर्ष अघि ०५८ सालमा आफुहरुको भएको सम्पत्ती खोसेपनि हालसम्म पुर्नस्थापना गर्न नसकेको बताए ।

उनले सुरेन्द्र बम र दिवान सिह विष्ट आयोगको प्रतिवेदन कार्यान्वय, खोसिएको सम्पत्ती फिर्ता क्षतिपूर्तिको माग अघि सारेका छन । बम आयोगले प्रति परिवार १०कट्टा जमिन वा ६०लाख दिने प्रस्ताव अघि सारेपनि वन मन्त्रालयमा थन्किएकाले पीडित भूमि अधिकारबाट बञ्चित भएका छन ।

पीडित विस्तापितदेखि यता ०६४ देखि ०८२ सम्मका चुनावमा झुटा, आशलाग्दा आश्वासन दिने तर समस्या समाधान नगर्ने प्रवृतिले कञ्चनपुरमा आरक्षपीडितको समस्या जस्ताको त्यस्तै रहेको पीडितको दुखेसो छ । पीडितको समस्या समाधानका लागि भन्दै ३४ आयोग बनिसक्दा पनि उनीहरुको पुर्नस्थापना नहुँदा उनीहरु खुला आकासमुनी बस्न बाध्य भएका छन ।

दुई हजार चारसय ७३ परिवार विगतका आयोगले सुचिकृत गरिसकेको छ । पीडितहरुले यस पटक पनि समस्या समाधान नभए आन्दोलन निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका छन ।

प्रतिक्रिया दिनुस