कञ्चनपुर । बेलौरी नगरपालिका वडा नं. ८ स्थित टिसिएन बस्ती नजिक अत्यधिक वर्षाका कारण भविष्यमा हुन सक्ने नदी कटानको जोखिमलाई मध्यनजर गर्दै स्थानीय समुदाय र सुरक्षा निकायको सक्रिय सहभागितामा जैविक तटबन्ध निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको छ।

वर्षायाम सुरु भएपछि यस क्षेत्रमा बाढी तथा कटानको उच्च जोखिम रहने हुँदा स्थानीय बासिन्दाहरूको जीउधनको सुरक्षाका लागि यो पूर्वतयारी अपनाइएको हो। यस कार्यमा बेलौरी नगरपालिका विपद् व्यवस्थापन शाखा, स्थानीय जनता, सशस्त्र प्रहरी बल (APF) र नेपाल प्रहरीको संयुक्त श्रमदान तथा सहकार्य रहेको थियो। बाहिरबाट महँगा निर्माण सामग्रीहरू खरिद गर्नुको सट्टा स्थानमै उपलब्ध स्थानीय स्रोत–साधनको अधिकतम प्रयोग गरी वातावरणमैत्री जैविक तटबन्ध निर्माण गरिएको छ।

सामूहिक प्रयास र विपद् पूर्वतयारीको गतिलो उदाहरण बनेको यस कार्यले टिसिएन बस्तीलाई सम्भावित बाढी तथा कटानको जोखिमबाट सुरक्षित बनाउने विश्वास गरिएको छ। विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा स्थानीय तह र समुदायको यस किसिमको सहकार्य अति नै सराहनीय रहेको छ।

प्रतिक्रिया दिनुस