महेन्द्रनगर । प्रहरीले दिपावलीमा ९५ जुवाडेलाई नियन्त्रणमा लिएको जनाएको छ । दसैंतिहारको समयमा मात्रै कञ्चनपुरका विभिन्न स्थानबाट जुवातास खेल्ने ९५ जनालाई पक्राउ गर्न सकिएको प्रहरीले जनाएको हो ।
विगत ४ महिनामा कञ्चनपुर प्रहरीले जुवाडेहरुबाट ८ लाख १४ हजार ५ सय १० नगद र ६ लाखको चेक बरामद गरेको जनाएको छ । जुवातास नियन्त्रण गर्न विशेष अभियान चलाएको प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए। ‘कञ्चनपुर प्रहरीले जुवातास नियन्त्रण अभियान चलाएको छ। विभिन्न समयमा प्रहरीले पक्राउ गरेका ११ जनालाई मुद्दा चलाएको छ’ उनले भने।
जुवातासले घरबारबिहिन बनाउने र परिवार तथा समाज नै पीडित हुने भन्दै प्रहरीले अभियान सञ्चालन गर्नुपरेको बताएको छ। पक्राउ परेका जुवाडेहरुलाई जुवा ऐन अनुसार कारबाहीसमेत गरिने प्रहरीको दाबी छ।
प्रतिक्रिया दिनुस