बैतडी । नेकपा माओवादी केन्द्रले बैतडीका ३९ वडामा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ। मंसिर ४ मा सुरु भएको वडाअधिवेशन सर्वसम्मत सम्पन्न भएपछि सबैमा नयाँ नेतृत्व आएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्टले बताए।
जिल्लाको पुर्चौडी नगरपालिकाका १०, दोगडाकेदार गाउँपालिकाका ८, डिलाशैनी गाउँपालिकाका ५, सिगास गाउँपालिकाका ५, सुर्नया गाउँपालिकाका ४, पाटन नगरपालिकाका ३, दशरथचन्द नगरपालिकाका २, मेलौली नगरपालिकाको १, शिवनाथ गाउँपालिकाको १ वडामा अधिवेशन भएको हो।
बाँकी रहेका वडामा मंसिर ११ सम्म नयाँ नेतृत्व चयन हुने जनाइएको छ। बैतडीमा १० स्थानीय तहका ८४ वडा छन्। माओवादी केन्द्रले मंसिर ११ मा पालिका र २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन गर्ने जनाएको छ। प्रदेशको सम्मेलनपछि आगामी पुस ११(१३ उक्त पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ।