नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिका लागि पाँच जनाले दावेदारी पेश गरेका छन्। प्रदेश अधिवेशन शुरु हुनुअघि औपचारिक र अनौपचारिक रुपमा उनीहरुले सभाापतिको दावी गरेका हुन्। प्रदेश सभापति दावी गर्नेमा नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’, कैलालीकै हिम बहादुर रावल, बझाङका अर्जुनजंग बहादुर सिंह, अछामका गोविन्द बहादुर शाह र नेविसंघका पूर्व उपाध्यक्ष एवं डोटीबाट महाधिवेशन प्रतिनिधि निर्वाचित पुष्पकुमार शाही रहेका छन्। सभापतिका दावेदार पाँचै जना पार्टी सभापति शेरबहादुर देउवा पक्षीय हुन्।
सुदूरपश्चिम प्रदेशमा आगामी १६, १७ र १८ गते कैलालीको धनगढीमा प्रथम प्रदेश अधिवेशन आयोजना हुँदैछ। प्रदेश अधिवेशन प्रचारप्रसार समिति संयोजक नृपबहादुर सुनारका अनुसार अधिवेशनमा प्रदेशका नौ जिल्लाका १६ संसदीय निर्वाचन क्षेत्र र ३२ प्रदेश सभा क्षेत्रबाट गरी साढे नौ सय प्रतिनिधि सहभागी हुँदैछन्।
प्रदेश अधिवेशनका लागि कांग्रेसले केन्द्रीय सदस्य तथा मन्त्री दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ। मुल आयोजक समितिको बैठकले पाँच सय एक सदस्यीय आयोजक समिति विस्तार गरेको छ। त्यस्तै, कांग्रेस कैलालीका सभापति नरनारायण शाहको संयोजकत्वमा अधिवेशन मुल व्यवस्थापन समिति तथा अन्य सात वटा उपसमिति समेत गठन गरिएको छ।