कैलालीको प्रसिद्ध घोडाघोडी तालमा चराको फोटो खिच्ने प्रतियोगिता सुरु भएको छ। विश्व रामसारमा सूचीकृत घोडाघोडी ताल र सो तालमा पाइने चराको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलो पटक ‘बर्ड फोटोग्राफी’ प्रतियोगिता बिहीबारदेखि सुरु गरिएको हो। बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले आयोजना गरेको प्रतियोगिता बोर्डका अध्यक्ष एवम् घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले उद्घाटन गरेका छन्।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौंं, पोखरा, चितवन, बर्दिया, कैलाली, कञ्चनपुरका वाइल्ड लाइफ फोटोग्राफर, पत्रकार, संरक्षणकर्मीको सहभागिता छ। प्रतियोगितामा सहभागी फोटोग्राफरहरुले घोडाघोडी तालमा पाइने जुनसुकै चराहरुको दुई दिनसम्म फोटो खिच्ने र आफूले खिचेको उत्कृष्ट तीन वटा फोटो प्रतियोगिताका लागि पेस गर्ने बोर्डका निर्देशक दयाराम चौधरीले बताए।प्रतियोगितामा सर्वोत्कृष्ट फोटो खिच्ने फोटोग्राफरलाई ३० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ। यसैगरी, दोस्रो स्थान प्राप्त गर्नेलाई २० हजार र तेस्रो स्थान प्राप्त गर्ने फोटोग्राफरलाई १० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ।

कैलालीको ठूलो सिमसारको रुपमा रहेको घोडाघोडी ताल र आसपासका क्षेत्रमा ३६० प्रजातिका चरा पाइन्छन्। जसमध्ये ६४ प्रजातिका जलपन्छी रहेको चराविद हिरुलाल डङ्गौराले बताए। यो सिमसारमा विश्वका दुर्लभ १२ प्रजातिका चराचुरुङ्गी पाइने गरेका छन्।

प्रतिक्रिया दिनुस