काठमाडौं । निर्वाचन आयोगले छुटेकाहरुलाई आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न आग्रह गरेको छ ।  आजदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन गर्ने निर्वाचन आयोगले जनाएको छ ।

रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्लाबाहिर रहेका व्यक्तिले अरु जिल्लाबाट पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् । यसअघि मतदाता नामावलीमा नाम समावेश गर्न छुटेकाहरूलाई लक्षित गरी निर्वाचन आयोगले नामावली सङ्कलन कार्यक्रम सुरु गर्न लागेको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बताए । मताधिकारबाट वञ्चित नहुन मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले अनुरोध गरेको छ । आयोगका अनुसार हिमाली र पहाडी जिल्लाका पालिकामा १० दिनसम्म मतदाता नामावली सङ्कलनको काम हुँदैछ । त्यस्तै, तराई र काठमाण्डौ उपत्यकाका पालिकामा १५ दिनसम्म चल्नेछ ।

१६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नेपाली नागरिकले मतदाता नामावलीमा नाम समावेश गर्न सक्नेछन् । आफ्नो स्थायी ठेगाना रहेको जिल्लाका निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गर्न मिल्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुस