त्रिनगर भन्सार गौरीफन्टा नाकाबाट शान्ति पुनस्र्थापना गृहले चालु आर्थिक वर्षको ४ महिनामा २ हजार २ सय ६४ जनालाई सूचना तथा परामर्श सेवा दिएको छ । शान्ति पुनस्र्थापना गृहले विगत ११ वर्ष देखि कैलालीको त्रिनगर नाका र टिकापुरको खक्रौला नाकामा रहेर काम गरिरहेको छ ।
टिकापुरको खक्रौला नाकाको तुलनामा धनगढीको त्रिनगर नाका भने ठुलो सिमानाका भएका कारण मुद्दाहरू सम्हाल्न हम्मे हम्मे परेको र अझ कर्मचारीहरूको आवश्यकता रहेको शान्ति पुनस्र्थापना गृहकी सुपरभाइजर पुष्पा जोशीले बताइन् । चालु आर्थिक वर्ष २०७८र७९को चार महिने अवधिमा शान्ति पुनस्र्थापना गृहले १२० युवतीहरूको उद्धार गरी समाजमा पुनस्र्थापना तथा परिवारमा पुनर्मिलन गराई सुरक्षित आवासको समेत व्यवस्था गरिएको शान्ति पुनस्र्थापना गृहकी सुपरभाइजर पुष्पा जोशीले जानकारी दिइन् ।
उनका अनुसार चालु आर्थिक वर्षमै ८ वटा मुद्दा दर्ता भएकोमा ३ वटा मानव बेचबिखन र ४ वटा जबरजस्ती करणीका मुद्दा रहेको छन् । धेरैजसो मुद्दाहरू विवाह तथा प्रलोभनमा पारेर लगिने र कतिपय युवतीहरूलाई आफू कहाँ जान लागेको समेत थाहा नहुने गरेको उनले बताइन् । त्यस्तै आ.ब. २०७७ र ०७८ मा ५ हजार ८ सय ५२ जना युवती मध्ये २५३ जनाको उद्धार गरिएको छ ।
गत आर्थिक वर्षमा प्रहरी कार्यालयमा जम्मा ३० वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये १७ वटा मानव बेचबिखनका मुद्दा रहेको मा ११ वटा मुद्दा दर्ता शान्ति पुनस्र्थापना गृहबाट भएको उनले सुपरभाइजर जोशीले जानकारी दिइन् । मानव बेचबिखन तथा ओसारपसारका घटनामा अझै कमी आउन सकेको छैन । परिवारको लापरबाही, उचित परामर्श एवं अज्ञानता कारण यस किसिमका घटनामा कमी आउन नसकेको देखिन्छ । तसर्थ सम्बन्धित निकाय र सरोकार बालाहरूले अझ कडाइ साथ कानुनको कार्यान्वयन गर्नुका साथै जनचेतना फैलाउन आवश्यक देखिन्छ ।