कैलाली । कैलालीमा भूपेन्द्र बडुवाल हत्या प्रकरणको विवरण सार्वजनिक गर्दे प्रहरीले २१ जना विरुद्ध मुद्धा दायर गरेको छ । सोमवार जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गर्दै घटनाको विवरण सार्वजनिक गरेको हो । प्रहरीले उक्त घटनामा २१ जनालाई अभियुक्त बनाएको छ । उनीहरुमध्ये १२ जना पक्राउ परेका छन् भने ९ जना अझै फरार छन् ।
कात्तिक २३ गते मंगलबार राति भएको बडुवाल हत्या प्रकरणमा संलग्न २१ जना अभियुक्त विरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा दायर गरिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए । हत्यामा संलग्न मध्ये लम्कीचुहा नगरपालिका–३ चिसापानीका २३ वर्षीय महेश रावल, २० वर्षीय धीरज भन्ने दीपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, वडा नम्बर १ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ र १८ वर्षीय गोलु भन्ने निशान्त मल्ल प्रहरीको नियन्त्रणमा छन् ।
यस्तै वडा नम्बर ५ बस्ने २८ वर्षीय विकास खड्का, टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीण रिमाल, बर्दिया राजापुर बस्ने २१ वर्षीय रोहित आले, टीकापुर ब्लक नं. १४ बस्ने २५ वर्षीय सोहन शाह, बर्दगोरिया–२ झगढपुर बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दिया ठाकुरबाबा–३ गोदाना बस्ने २६ वर्षीय सन्तोष भन्ने सविनजंग शाही पक्राउ परेका छन् । यस्तै लम्कीचुहा नगरपालिका –३ चिसापानी बस्ने २७ वर्षीय नविन रावल, चिरञ्जीबी जंग शाही, हिमाल शाही, जानकी– ६ जगतपुरका जयन्द्र शाह, टीकापुर–१ बस्ने बिकास शेरचन, लम्कीचुहा–४ बस्ने रोशनबहादुर शाही, टीकापुर–६ बस्ने अशोक रावल, लम्कीचुहा–३ बस्ने लोकजंग शाही र बर्दिया गरुवा– ५ बस्ने हेमन्त शाही भने फरार रहेको प्रहरीले बताएको छ ।
अनुसन्धानबाट नविन, धिरज, आर्यन, मदन, निशान्त, विकास, प्रविण, रोहित, सोहन, चिरञ्जीवी, हिमाल, विकास खड्का, रोशन, अशोक र हेमन्त शाहीलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (२) बमोजिम हुने सजाय (जन्मकैद) र सोही संहिताको दफा ४१ (जीवित रहेसम्म) बमोजिम कैदसजाय मागदाबी गरिएको छ । लोकजंग शाही, महेश रावल, कपिल श्रेष्ठ र जयन्द्र शाहलाई दफा १७७ (२) बमोजिम (जन्मकैद) सजाय माग गरिएको छ भने लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई दफा ३६ (३) (क) बमोजिम कसुर गरे सरह जन्मकैदको सजाय माग गरिएको छ । यस्तै दफा १८६ बमोजिम प्रतिवादीहरूबाट जाहेरवालालाई उचित क्षतिपूर्तीको पनि माग गरिएको छ। कार्तिक २३ गते टीकापुरमा भूपेन्द्रको हत्या भएको थियो ।