करिब तीन दशकदेखि बन्द अवस्थाको बैतडी–दार्चुला सीमा क्षेत्रमा रहेको गोकुलेश्वर विमानस्थल पुनःनिर्माणको काम थालिएको छ । तीन करोड ५८ लाख बजेटमा ठेक्का सम्झौता भएर उक्त विमानस्थल पुनःनिर्माणको काम थालिएको हो । केएस कन्सट्रक्सन प्राली धनगढीले विमानस्थल पुनः निर्माण गरिरहेको छ ।
विमानस्थलमा स्काइभेटर प्रयोग गरेर घाँस उखेल्ने काम गरिसकिएको र अहिले कटिङ गर्ने काम र फिलिङका लागि विमानस्थलमा निर्माण सामाग्री ढुवानी गर्ने काम भइरहेको कम्पनीका साइट इन्चार्ज राजेन्द्र ऐरले जानकारी दिए । “अहिले विमानस्थलमा माटो भर्ने ९फिलिङ० काम भइरहेको छ, एक वर्षमा फिलिङ र ग्याबिनको काम सम्पन्न हुनेछ,” उनले भने । गोकुलेश्वरमा रहेको विमानस्थल पुनःसञ्चालनमा आए यहाँको पर्यटन विकासका साथै यातायात सेवा सहज हुने स्थानीयवासी सुरेश श्रेष्ठले बताए । विमानस्थल सञ्चालनमा आए दार्चुलाका साथै बैतडी र बझाङ जिल्लाका नागरिकलेसमेत सेवा पाउने छन् ।“विमानस्थलले विकट क्षेत्रका रुपमा रहेको दार्चुलाको यातायात सेवा सहज बनाउनेछ यसका साथै समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ,” उनले भने ।
विसं २०४६ सालदेखि सञ्चालनमा आएको गोकुलेश्वर विमानस्थल २०५० साल मङ्सिर २२ गते देखि पूर्णरूपमा बन्द भएको थियो । अहिले हवाई यातायातको सुविधा नहुँदा प्रदेश राजधानीबाट झण्डै ३५० किलोमिटर सडकमार्गबाट पुगिने दार्चुला सदरमुकामसम्म पुग्न कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । यसका साथै आकस्मिक रूपमा रेफर गर्नुपर्ने बिरामीले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपरेको छ ।
विमानस्थल बन्द हुँदा यसअघि गौचरन र खेलमैदानका रुपमा परिणत भएको थियो । द्वन्द्वका बेला तत्कालीन माओवादीले विमानस्थलमा रहेको टावर, टर्मिनल भवन, साइट अफिसलगायतमा आगजानी गरेपछि त्यसयता भवन पुनःनिर्माण हुनसकेको छैन । द्वन्द्वकालदेखि विमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाको आर्थिक विकास र पर्यटन प्रवद्र्धन हुन नसक्दा ठूलो घाटा बेहोर्नु परेको छ ।बन्द रहेको विमानस्थल नेताको सभा, सम्मेलन गर्ने थलो, स्थानीयवासीको लागि खेलमैदान तथा बस्तुभाउको चरन क्षेत्रका रूपमा परिणत भएको दार्चुलाको एकमात्र गोकुलेश्वर विमानस्थलमा अहिले प्रारम्भिक चरण अन्तर्गत फिलिङ र ग्याबिनको कार्य भइरहेको छ ।
विमानस्थल सञ्चालनको लागि तयारी थालिनुले खुसी लागेको स्थानीयवासी जिज्ञासु खत्रीको भनाइ छ । उनले भने,“गोकुलेश्वर विमानस्थल सञ्चालनमा ल्याउन सकेमा जिल्लाको व्यापारिक, सामाजिक एवं रोजगारीका हिसाबले सम्भावना बढ्ने कुरा त छदैछन्, सँगसँगै दार्चुलाका धार्मिक एवं पर्यटकीय अपी बेस क्याम्प, मालिकार्जुनको शैल्यशिखरधाम, व्यास गुफा, छाङरू, तिङ्कर भञ्ज्याङ्, दुँहुमा निर्माण भइरहेको बन्जीजम्पिङसहित पासा दह, सिद्धटोपी, उकुको महल जस्ता गन्तव्यको प्रवद्र्ध्न एवं विस्तारमा निश्चय नै यस विमानस्थलको सञ्चालनले थप टेवा पुग्नेछ ।”
साथै देशभित्र तथा बाह्य पर्यटकका लागि समेत दार्चुला नेपालको उत्कृष्ट गन्तव्य बन्न सक्ने कुरामा आफू ढुक्क रहेको उनको भनाइ छ । विमानस्थल सञ्चालनमा आएमा यहाँको आर्थिक अवस्था सुधार हुने गोकुलेश्वरका व्यापारी हेम विष्टको विश्वास रहेको छ । पर्यटन क्षेत्रको विकासका लागि टेवा पुग्ने होटेल व्यवसायी भुवन भण्डारीको भनाइ रहेको छ । यहाँ थुप्रै पर्यटनको सम्भावना रहेको विमानस्थल सञ्चालनमा आए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुनेछ । स्थानीयवासी सुरेश श्रेष्ठले भने,“ काम समयमै पूरा होस, बजेट थोरै भयो, थप बजेट बिनीयोजन गरेर काम संतोषजनक गर्नु आवश्यक छ, अनुगमनकारी निकायले समय समयमा अनुगमन पनि गरोस । ”