काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से ५.८४ अंकले घटेर २४४९.९७ अंकमा बन्द भएको छ । सामान्य उतारचढाव देखिएको नेप्सेमा बजार परिसूचक र कारोबार रकम लगातार घटिरहेको छ । बुधबार बजार परिसूचक ९ महिनायताको न्यून बिन्दुमा झर्दा कारोबार रकम पनि १५ महिनायताकै न्यून भएको छ । आज नेप्से सामान्य गिरावट भयो भने कारोबार रकम पनि बुधबारकै हाराहारीमा रह्यो । बुधबार २ अर्ब ६६ करोडको कारोबार भएको थियो भने आज ६२ लाख २३ हजार ७२१ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ६७ करोड ३३ लाख नौ हजार बराबरको कारोबार भएको छ । नेप्सेमा एकल अंकको गिरावट हुँदा होटेल तथा पर्यटन, अन्य र म्युचुअल फन्डबाहेक सबै उपसूचकमा गिरावट भएको छ ।
आज कारोबार रकममा हिमालयन डिस्टिलरीले लिड गरेको छ । कम्पनीको आठ करोड ८५ लाखको कारोबार हुँदा, अपी पावरको आठ करोड ६२ लाख र नबिल बैंकको आठ करोड १४ लाख तथा महालक्ष्मी विकास बैंकको ८ करोड ७ लाखको कारोबार भएको छ । आज नेप्सेमा १८९ कम्पनीको सेयर कारोबार हुँदा १०६ कम्पनीको सेयरमूल्य घटेको छ भने ७२ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ११ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज कारोबार भएको मध्ये सिनर्जी पावर कम्पनीको सेयरमुल्य ४.५५ प्रतिशतले वृद्धि हुँदा सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य ३.४४ प्रतिशतले बढेको छ । यता, सामुदायिक लघुवित्तको सेयर मूल्य ५.८२ प्रतिशतले गिरावट हुँदा श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको सेयर मूल्य ५.१४ प्रतिशतले घटेको छ ।