डडेल्धुराको अजयमेरू गाउँपालिका–४ स्थित दुर्गास्थान आधारभुत विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गरिएको छ । खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धी मापदण्डहरू पूरा गरेपछि यो विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गरिएको हो । अजयमेरू गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना डडेल्धुराको सहयोगमा विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गरिएको विद्यालयका प्रधानाध्यापक तिर्थराज पनेरुले बताए।

उनकाअनुसार खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धी १० वटा सूचक पूरा गरेर विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरिएको हो।दुर्गास्थान आधारभुत विद्यालय खानेपानी, शौचालय, सफा स्वच्छ हरियाली वातावरण, खानाको स्वच्छता, स्वच्छता सुविधा, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्था दिगोपन, विपद् जोखिम व्यवस्थापन र प्रवद्र्धन र दिगोपनका लागि संस्थागत व्यवस्था लगायतका मापदण्डहरू पूरा गरेपछि विद्यालय तीन तारे सुनिश्चिता घोषणा भएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सल्लाहार विष्णु पोखरेलले बताए ।

उनले डडेल्धुराका २४ विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गर्ने कार्यक्रम रहेको बताए । चालु आर्थिक वर्षमै ६ विद्यालयलाई तीन तारे बनाइने लक्ष्य छ। उनले भने, ‘घोषणा गर्दैमा सबै कुरा पूरा भए भन्ने होइन्। यो अभियानलाई गाउँपालिका, विद्यालय र अभिभावकले सहयोग गर्नुपर्छ।’ दुर्गास्थान विद्यालयले विद्यालय खानेपानी तथा सरसफाइ स्वच्छता कार्यविधि ७४ को दोस्रो संसोधन ७६ अनुसारका १० वटै मापदण्ड पूरा गरेर उत्तम स्थान हासिल गरेकाले तीन तारे विद्यालय घोषणा गरिएको जनाइएको छ। दुर्गास्थान आधारभुत विद्यालय जिल्लाकै पहिलो तीन तारे विद्यालय सुनिश्चिता घोषणा हुनु गाउँपालिकाका लागि खुसीको कुरा भएको गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बताए । गाउँपालिकाले आगामी दिनमा अझैं शिक्षाको क्षेत्रमा फड्को मार्दै जाने र अजयमेरूलाई शिक्षाका लागि नमूना क्षेत्र बनाउने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुस