काठमाण्डौ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि आज सोमवार भइरहेको मतदानमा अहिलेसम्म आठ सय ७८ मत खसेको छ । दिउँसो १२ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म आठ सय ७८ मत खसेको हो । महाधिवेशनमा एक सय ३२ पदका लागि चार सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक ठाउँ र भृकुटीमण्डपमा दुई ठाउँमा व्यवस्था गरेको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले राष्ट्रिय सभा गृहमा तीन सय ४३ र भृकुटीमण्डपका दुई ठाउँ ९प्रदर्शनी हल र प्राङ्गण० मा पाँच सय ३५ मत खसेको छ । निर्वाचन समितिले भृकुटीमण्डपका दुई ठाउँमा दुई हजार एक सय र एक हजार तीन सय तथा राष्ट्रिय सभा गृहमा एक हजार तीन सय मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाएको छ । एक जना प्रतिनिधिलाई मतदान गर्न झन्डै आधा घण्टा समय लाग्ने जनाइएको छ । कांग्रेस विधानअनुसार एक सय ६७ सदस्यीय कार्यसमितिमध्ये एक सय ३४ पदमा चुनाव हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या चार हजार सात सय ४३ रहेको छ ।