नेकपा(एमाले)ले स्थायी कमिटी र पोलिटब्युरो गठन गरेको छ । आइतबार सम्पन्न नेकपा(एमाले)को केन्द्रीय कमिटीको पूर्ण बैठकले १९ जना पदाधिकारीसहित २६ जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा चयन गर्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको पार्टीका महासचिव शंकर पोखरेलले बताए । त्यसैगरी बैठकले ५४ जनाको पोलिटब्युरो पनि गठन गरेको छ । बैठकले १० प्रतिशतलाई केन्द्रीय सदस्यलाई मनोनीत गर्नुपर्ने पार्टीको विधानअनुसार ४५ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरिएको पनि महासचिव पोखरेलले जानकारी दिए ।
एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको १०औं महाधिवेशनबाट पारित विधानको सम्पादन र नियमावली संशोधन गर्नका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा खगराज अधिकारी र रमेश बडाल सदस्य रहेको कार्यदल गठन गरेको छ । एमालेको जिल्ला अधिवेशन पुस २३ गते र प्रदेश अधिवेशन माघ ८ गते गर्ने निर्णय गरिएको महासचिव पोखरेलले बताए । बैठकले फागुन महिनाभित्रै सम्पूर्ण जनवर्गीय संगठनहरूको अधिवेशन गर्न निर्देशन दिएको छ । बैठकले सातै प्रदेशको प्रदेश इन्चार्ज तोक्नुका साथै निर्वाचित ३०१ केन्द्रीय सदस्यहरूलाई नै जिम्मेवारी तोकेको छ । मनोनीत केन्द्रीय सदस्यहरूलाई भने केन्द्रीय कार्यालयले पछि जिम्मेवारी तोक्ने बताइएको छ ।