देशभरिका १० हजारभन्दा बढी हुलाकी यतिबेला कामविहीन भएका छन् । सूचना प्रविधिको विकाससँगै चिठ्ठीपत्र पठाउने चलन घटेपछि उनीहरू कामविहीन अवस्थामा पुगेका हुन् । देशभरमा हुलाक प्रतिनिधि तीन हजार ७४ जना, पत्रवाहक तीन हजार २४ जना र डाँकवाहक चार हजार ७६० जना कार्यरत छन् । उनीहरूलाई सेवामा उमेरको हदबन्दी छैन । कुल १० हजार ८५८ जना हुलाकीले शरीरले साथ दिँदासम्म सेवा गर्न पाइरहे पनि निकै फुर्सदिला हुने गरेका छन् ।
हुलाक प्रशिक्षण केन्द्रका सूचना अधिकारी सुजितकुमार कर्णले सूचना प्रविधिको विकासले हुलाक सेवालाई चुनौती थपिएको बताउँदै भन्नुभयो, “आजीवन सेवा गर्न पाउने भएकाले यो सेवामा आकर्षण त छ तर उनीहरूलाई पर्याप्त जिम्मेवारी दिन सकिएको छैन । कर्मचारीलाई चुस्त राख्न प्रशिक्षण दिने कार्य जारी छ । ” उहाँका अनुसार उनीहरूको पारिश्रमिक मासिक आठ हजार रुपियाँ छ । यस्ता कर्मचारीले दैनिक सरदर तीन घण्टा काम गरे पुग्छ । अचेल व्यक्तिगत रूपमा पत्राचार गरी सुखदुःखका खबर बुझ्ने चलन करिब लोप भइसकेको छ । प्रायः संस्थागत रूपमा चिठ्ठीपत्र आदान–प्रदान गर्नमात्र हुलाक सेवा प्रयोग गर्ने गरिएको पाइन्छ । हुलाक सेवा विभागका निर्देशक यज्ञराज भट्टले भन्नुभयो, “चिठ्ठीपत्र पु¥याउने यिनको काम के भनेर भन्छन् । तर, त्यस्तो होइन । परिवर्तित सन्दर्भअनुसार कामको जिम्मेवारी बढ्न सक्छ । ”
सरकारले सरकारी सेवाअन्तर्गतको हुलाक सेवा समूह २०६१ मा खारेज गरिसकेको छ । जसका कारण अहिले त्यो समूहमा कर्मचारी भर्ना हुँदैनन् । तर, २०३४ सालमै गठन भएको अतिरिक्त हुलाक सेवा समूह भने सञ्चालनमै छ । यो समूहका कर्मचारी हुलाक प्रतिनिधि, पत्र वितरक र डाँकवाहकका रूपमा नियुक्त भएका थिए । यो समूहका कर्मचारीको व्यवस्थापन गर्नेबारे सरकारले गत वर्ष एक अध्ययन कार्यदल पनि गठन गरेको थियो । कार्यदलले त्यसै वर्ष आधुनिक हुलाक सञ्चालन गर्न आवश्यक भएको प्रतिवेदनमा दिएको छ ।
प्रतिवेदनमा अनुभवी कर्मचारी दिनप्रतिदिन घट्दै जाने क्रमसँगै हुलाकको भविष्य पनि अन्योलमा परेको उल्लेख गरिएको छ । यो सेवा अधोगतितर्फ उन्मुख भएकाले आधुनिक प्रविधिसहितको दक्षता अभिवृद्धि गर्नुपर्ने सुझाव कार्यदलले दिएको छ । यद्यपि, त्यसको थप कार्यान्वयन हुन सकेको छैन ।