बेलायतमा दैनिक कोराना भाइरस (कोभिड-१९) संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा ८८ हजार नयाँ संक्रमित भेटिएका छन् । यो बेलायतमा कोरोना महामारी देखिएपछि अहिलेसम्मकै उच्च संक्रमितको संख्या हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै बेलायतमा दैनिक संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।
बेलायतमा कोभिडका कारण आगामी पाँच महिनामा कम्तिमा ५० हजारदेखि बढीमा ७५ हजार जना मानिसको मृत्यु हुन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूले चेतावनी दिएका छन् । संक्रमण तीव्र फैलिएको भन्दै सावधानी अप्नाउन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन् । नयाँ भाइरसको संक्रमण बढेसँगै सरकारले १८ वर्षदेखि माथिका सवैलाई बुस्टर डोज दिने तयारी गरेको छ । करिब ६ करोड ७० लाख जनसंख्या भएको बेलायतमा कोभिडबाट अहिलेसम्म १ करोड १० लाख संक्रमित भएका छन् । कोभिडबाट १ लाख ४७ हजारको मृत्यु भइसकेको छ ।