महेन्द्रनगर । नेकपा एमालेका नेता भीम रावलले केन्द्रीय सल्लाहकार परिषद् सदस्य नबन्ने अडान लिएका छन् । आफूसँग छलफल नै नगरी केन्द्रीय परिषद् सदस्य बनाइएको समाचारबाट थाहापाएको भन्दै उनले आपत्ति जनाएका हुन् । नेकपा एमाले केन्द्रिय कमिटीले दिएको जिम्मेवारी तत्काल सहर्ष नस्वीकार्ने संकेत उनले दिएका छन् ।
शनिवार सामाजिक सञ्जालमार्फत रावलले यदि सो कुरा सत्य भए आफूलाई सोध्दै नसोधी कुनै पदको टिका लगाइदिनु आपत्तिजनक रहेको उल्लेख गरेका छन् । उनले टिके प्रणाली बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने समेत बताएका छन् । ‘मलाई नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’ रावलले भनेका छन् ।
शुक्रबार काठमाडौँमा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको निर्णय सुनाउने क्रममा पार्टीका महासचिव शंकर पोखरेलले नीतिगत रूपमा नेता रावल पार्टीको सल्लाहकार रहने बताएका थिए ।