टेस्ला कम्पनीका सीईओ एलन मस्कले यो वर्ष ११ बिलियन डलरभन्दा बढी कर तिर्ने बताएका छन्। मस्कले सोमबार ट्विट गर्दै यस्तो बताएका हुन्। मस्कले गत नोभेम्बर महिनाको सुरुआततिर टेस्लाको १४ बिलियन डलरबराबरको सेयर बिक्री गरेका थिए। उनले ट्विटर पोलमा कम्पनीमा रहेको आफ्नो १० प्रतिशत सेयर स्वामित्व बिक्री गर्ने÷नगर्नेबारे आफ्ना फलोअर्सलाई प्रश्न गरेका थिए। जसको उत्तरमा अधिकांशले सेयर बिक्री गर्नुपर्ने प्रतिक्रिया दिएका थिए। तर, मस्कले यसअघि नै सेयर बिक्री गर्न सुरु गरिसकेका थिए।

मस्कलाई सन् २०१२ मा उपलब्ध गराइएको स्टक अप्सनको समयावधि अर्को वर्षको अगस्ट महिनामा समाप्त हुँदैछ। स्टक अप्सनलाई कार्यान्वयन गर्नका लागि उनले पुँजीवृद्धिमा आय कर तिर्नुपर्ने हुन्छ। तलब र नगद लाभांशका अतिरिक्त मस्कको सम्पत्ति स्टक अवार्ड र टेस्लाको सेयरमूल्यमा भएको वृद्धिबाट आउने गर्छ। मस्कको ट्विटर पोलका कारण टेस्लाको सेयरमूल्यमा गिरावट आए पनि यसको आकर्षण भने कायम रहिरह्यो। यो वर्ष कम्पनीको सेयरमूल्यको वार्षिक वृद्धिदर २८ प्रतिशत रहेको छ।

मस्कलाई नगद आवश्यक पर्दा कम्पनीको सेयर धितो राखेर ऋण लिने गर्छन्। उनको यो प्रवृत्तिलाई धनाढ्यहरुको कर छल्ने उपाय भन्दै केही राजनीतिज्ञहरुले विरोध गर्ने गरेका छन्।

वर्षको सुरुआतरित मस्कसहित अन्य धनाढ्यहरुले सन् २०१८ मा कुनै पनि फेडेरल ट्याक्स नतिरेको भन्दै प्रोपब्लिकाले अनुसन्धात्मक रिपोर्ट सार्वजनिक गरेको थियो। प्रोपब्लिका अनुसार सन् २०१४ र २०१८ को बीचमा मस्कले १।५२ बिलियन डलर आम्दानी गर्दै ४५५ मिलियन डलरबराबरको कर तिरेका थिए। तर यस अवधिमा उनको सम्पत्ति १३।९ बिलियन डलरले वृद्धि भएको थियो। फोर्ब्सका अनुसार २४४ बिलियन डलर सम्पत्तिका मालिक एलम मस्क संसारकै सबैभन्दा धनी व्यक्ति हुन्। –एजेन्सी

प्रतिक्रिया दिनुस