काठमाडौं –प्रतिनिधि सभाको दशौं अधिवेशनको दोस्रो बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ । मंगलबारको बैठकमा प्रस्तुत हुने चार ओटा कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ । मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो । उसले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ ।

गत मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए । आज पनि बैठक चल्न नदिने एमालेले जनाएको छ । एमालेले सभामुखको राजीनामा मागेको छ । एमालेले कारबाही गरेका सांसदहरुलाई संसदमा छिर्न दिएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागिएको हो । प्रतिनिधि सभाको आजको बैठकअघि सभामुख सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक आज बिहान ११ः३० बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ ।

प्रतिक्रिया दिनुस