धनगढी,६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय उडान गर्न सक्ने गरी स्तरोन्नतिका लागि आफूले पहल गरिरहेको बताएका छन् । सोमबार विहान नेपाल पर्यटन बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयको धनगढीमा उद्घाटन गर्दै उनले धनगढी विमानस्थल स्तरोन्नतिका लागि पहल गरिरहेको बताएका हुन । यसका लागि एक हप्ताभित्रै एक अर्ब रुपैयाँ बजेटको व्यवस्था गर्ने बताए ।

‘म मन्त्री हुने बित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थल स्तरोन्नतिका लागि भनेको थिएँ । उहाँले हुन्छ, गरौं न त भन्नुभो’, मन्त्री आलेले भने । ‘त्यसपछि मैले पहल चालेको हुँ ।’ धनगढी विमानस्थलका लागि हालसम्म कुनै पनि मन्त्रीले एक रुपैयाँ नछुट्टयाएको जिकिर गर्दै उनले आफू एक अर्ब रुपैयाँ छुट्टयाउनका लागि पहल गरिरहेको बताए । ‘यो विमानस्थलको रनवे २५०० मिटर भयो भने अन्तर्राष्ट्रिय उडान हुन सक्छ’, मन्त्री आलेले भने । ‘हामी यहाँबाट काठमाण्डौंमात्रै हैन, अमेरिका जान चाहन्छौं ।’ विमानस्थल स्तरोन्नतिको कुरा अगाडि बढेपछि भू–माफियाहरु जग्गाको लागि क्रियाशील भएको भन्दै उनले विमानस्थल आसपासका स्थानीयलाई सचेत रहन आग्रह गरेका छन् ।यसैगरी, भारतको दिल्लीका पर्यटकलाई बझाङ्को उरै, ताक्लाकोटसम्म पु¥याउनका लागि राजमार्ग निर्माणको कार्य अगाडि बढिरहेको मन्त्री आलेले बताए । तर, ३० महिना निर्माण समायवधि रहेको सडकको ४६ महिनासम्म ट्रयाक खोल्ने कार्य पूरा नभएको उनको भनाइ थियो ।

ठेकेदारले सडक निर्माणमा लापरवाही गरिरहेको उल्लेख गर्दै उनले ट्रयाकमात्रै खोलिएमा ५०० देखि ७०० करोड बजेट राखेर उरै नाकासम्म राजमार्ग पु¥याउन सकिने बताए । चार प्याकेजमा सो सडकको निर्माणको कार्य भइरहेको छ । सुदूरपश्चिममा पर्यटन र होटल म्यानेजमेन्ट सम्बन्धी सरकारी स्तरबाट पढाइ सुरु गरिनेसमेत मन्त्री आलेले बताएका छन् । यसका लागि आज सर्वेका लागि एक टोली आइरहेको उनले जनाए ।

प्रतिक्रिया दिनुस