काठमाडौं । मलेसियन लगानीको दूरसञ्चार कम्पनी एनसेल पब्लिक कम्पनी भए पनि सर्वसाधारणका लागि भने सेयर जारी गरेको छैन । तर, यो कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को ओभर दि काउन्टर (ओटीसी) भने प्रतिकित्ता नै १ लाख २४ हजार १ सय रूपैयाँमा कारोबार भएको छ ।
एनसेलको गत १९ साउनमा एक कित्ता मात्रै सेयर किनबेच गरेको नेप्सेले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । सो तथ्यांकअनुसार एनसेलको एक कित्ता सेयर किनबेच कविन मूल र सम्पन्नराज भट्टले गरेका हुन् । भट्टको नाममा रहेको एक कित्ता सेयरलाई १ लाख २४ हजार १ सय रूपैयाँमा मूलले खरिद गरेको उल्लेख छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नेप्सेमा सूचीकृत नभएका तर पब्लिक कम्पनी छन् भने तिनको किनबेच ओटीसीबाटै हुन्छ । ओटीसीमा एक कित्ताभन्दा माथि जति पनि कारोबार गर्न पाइन्छ । यस्तो कारोबार गर्दा कुनै सीमा नहुने र किन्ने र बेच्नेको सहमति भए महँगोमा कारोबार गर्नलाई कुनै रोकतोक हुँदैन ।
उनले भने, ‘हामीले सो कम्पनीको नेटवर्थ चाहिँ हेर्ने भए पनि किन्ने र बेच्नेको आपसी सहमतिमा किनबेच गर्न सक्ने भएकाले पनि एनसेलको एक कित्ताकै १ लाखभन्दा बढी मूल्यमा कारोबार भएको हो । कम्पनी रजिस्टारको कार्यालयमा जति कम्पनी दर्ता भए पनि नेप्सेमा सूचीकृत कम्पनी भने ३ सय १८ मात्रै छन् । यीबाहेक कर्णालीमा भएको कुनै कम्पनी किनबेच गर्दा होस् वा काठमाडौंको कम्पनीको स्वामित्व परिवर्तन हुँदा होस् कारोबार ओटीसीमै हुन्छ । त्यहाँ हुने कारोबार धेरै नहुने, सधैं नहुने हुँदा थोरै कित्ता पनि हुन्छ ।’
एनसेलले ओटीसीमा नै एक कित्ताकै १ लाखभन्दा बढी मूल्यमा किनबेच गरेको कारण यो कम्पनी सर्वसाधारणलाई सेयर जारी गर्दा भने यसको सेयर मूल्य कति होला रु किन एक कित्ता मात्रै किनबेच भयो रु त्यो पनि महंगोमा भन्नेमा चाहिँ आम सर्वसाधारणको रुचीको विषय भएको छ । नेपालमा दूरसञ्चार सेवा प्रदायक कम्पनीको रूपमा दर्ता भएको यस कम्पनीले हाल मोबाइल सेवा प्रदान गरिरहेको छ । कम्पनी ऐन २०६३ अनुसार ५ करोडभन्दा बढी चुक्ता पुँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी पब्लिक हुनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार एनसेल पब्लिक कम्पनी भइसकेको भए पनि यसले सर्वसाधारणको लागि सेयर भने जारी गरेको छैन् ।
नेप्सेका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा ३२ वटा कम्पनीको एक करोड १९ लाख २१८ कित्ता सेयरको किनबेच भएको छ । यस्तो किनबेचबाट एक अर्ब ५० करोड ३१ लाख एक हजार ३१ रूपैयाँ कारोबार भएको पनि उल्लेख छ । यस्तो कारोबारमा प्रतिकित्ता १ हजार ६० रूपैयाँसम्ममा कारोबार गर्ने कम्पनी पनि छ । हाइड्रो कल्सल्टिङ इन्जिनियरिङले २९ हजार २ सय ९३ कित्ता सेयर गत साउन ५ गते एक हजार ६० रूपैयाँमा कारोबार गरेको छ । ओटीसीमा भएको यो वर्षको सबैभन्दा धेरै कित्तामा भने सगरमाथा जलविद्युत् कम्पनीको ३४ लाख ५७ हजार १ सय ६७ कित्ता रहेको पनि उल्लेख छ ।