जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टको काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। जिसस प्रमुख भट्टको सोमबार बेलुकी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे।

भट्टलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न पशुपति आर्यघाटमा प्रतिनिधिसभा सदस्य निरादेवी जैरू, कांग्रेस केन्द्रीय सदस्य एनपी साउँद, रमेश लेखक, नैनसिंह महर, डडेल्धुरा जिल्ला पार्टी सभापति भीमबहादुर साउँदलगायत नेता तथा कार्यकर्ता पुगेका थिए। २०७४ को स्थानीय तहको निर्वाचनमा अमरगढी नगरपालिका–६ बाट वडासदस्य पदमा निर्वाचित भई भट्ट जिल्ला समन्वय समिति प्रमुख बनेका थिए।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहभागी हुन डडेल्धुराबाट काठमाडौं पुगेका प्रमुख भट्ट मंसिर २८ गते एक्कासी बेहोस भएका थिए। त्यसपछि उनलाई सुमेरु अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ ठीक नभएपछि थप उपचारका लागि उनलाई अन्नपूर्ण न्यूरो अस्पतालमा लगिएको थियो। सुगर र ब्लड प्रेसरका बिरामी भट्टलाई चिकित्सकले ‘ब्रेन ह्यामरेज’ भएको बताएका थिए। ०४६ सालमा पाटन क्याम्पसमा अध्ययन गर्दा नेपाल विद्यार्थी संघमा आवद्ध भएका भट्टको कांग्रेस राजनीतिमा योगदान छ।

नेपाल तरुण दलका पूर्वकेन्द्रीय सचिवसमेत रहेका भट्ट सातौं जिल्ला अधिवेशनबाट यसपटक कांग्रेस डडेल्धुरा प्रदेश ९ख० का क्षेत्रीय सभापति बनेका थिए। ५० वर्षीय भट्ट डडेल्धुरा जिल्ला अदालत बार एकाइका पूर्वअध्यक्षसमेत हुन्। उनका एक छोरा र एक छोरी छन्। जिसस प्रमुख भट्टको निधनमा डडेल्धुराका सातवटै स्थानीय तहले मंगलबार सार्वजनिक बिदा दिएका छन्।

प्रतिक्रिया दिनुस