नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट सभापति सहित केन्द्रीय समितिमा १७ जनाको प्रतिनिधित्व भएको छ । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सभापति, सहमहामन्त्री र केन्द्रीय सदस्यमा विजयी भएका हुन् । त्यस्तै, खुला केन्द्रीय सदस्यमा चार जना, खुला महिला केन्द्रीय सदस्य दुई जना, प्रदेश भूगोलबाट तीन जना, थारु महिलाबाट एक जना, थारु खुलाबाट एक जना, पिछडिएको क्षेत्रबाट एक, दलितबाट दुई र खस आर्यबाट एक जना निर्वाचित भएका छन् ।

१४ औं महाधिवेशनमा सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् । भने सहमहामन्त्रीमा बाजुराका बद्रिप्रसाद पाण्डे निर्वाचित भएका छन् । उनी सहमहामन्त्री तर्फ पिछडिएको क्षेत्रबाट निर्वाचित भएका हुन् ।उनले सहमहामन्त्रीमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही (हुम्ला) लाई पराजित गरे । सुदूरपश्चिम प्रदेशबाट सभापति र विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्यका लागि ४८ जनाले प्रतिस्पर्धा गरेका थिए । खुला केन्द्रीय सदस्यका लागि सुदूरपश्चिम प्रदेशबाट १३ जनाले उम्मेदवारी दिएकोमा चार जना निर्वाचित भएका छन् ।

खुला केन्द्रीय सदस्यमा एनपी सावद (कञ्चनपुर), रमेश लेखक (कञ्चनपुर), दिलेन्द्रप्रसाद वडू (दार्चुला) र नैनसिंह महर (डडेल्धुरा) विजयी भएका हुन् । त्यस्तै, खुला महिला केन्द्रीय सदस्यमा डाक्टर आरजू राणा देउवा (कैलाली) र ईश्वरी न्यौपाने (कैलाली) निर्वाचित भएका छन् । यस्तै दलितबाट केन्द्रिय सदस्यमा धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड र बझाङका प्रतिनिधि सभा का सदस्य प्रकाश स्नेही रसायली निर्वाचित भएका छन् । खस आर्यबाट केन्द्रीय सदस्य पूर्व सञ्चार राज्यमन्त्री गोविन्दबहादुर निर्वाचित भएका छन् ।

प्रदेश भूगोलबाट महिलातर्फ कैलालीका सुशीला मिश्र भट्ट र कैलालीकै रणबहादुर रावल तथा कञ्चनपुरका यज्ञराज जोशी निर्वाचित भएका छन् । देश भूगोलबाट महिला केन्द्रीय सदस्यमा तीन जना र खुलातर्फ छ जना उम्मेदवार रहेका थिए । त्यस्तै, महिला थारुतर्फ कैलालीका जीवन राना निर्वाचित भएकी छिन् । भने थारु खुला केन्द्रीय सदस्यमा कैलालीका रामजनम चौधरी निर्वाचित भएका छन् । पिछडिएको क्षेत्रबाट बझाङका अर्जुनजंगबहादुर सिंह केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुस