महेन्द्रनगर । कञ्चनपुरमा पहिलो चरणको मतदाता नामावली सङ्कलनमा दोब्बर बढी स्थानीय नाम दर्ता गराउन छुटेका छन् । स्थानियतहमै गई जिल्ला निर्वाचन कार्यालयले नामावली दर्ता गराउन सुरु गरेकोमा हजारौँको सङ्ख्यामा स्थानीय छुटेका पाइएको हो ।

जिल्ला निर्वाचन कार्यालयले पहिलो चरणमा जिल्लाका ४ स्थानियतहमा १५ दिन नामावली सङ्कलन गरेकोमा दोब्बर बढी स्थानीय नामावलीमा नाम दर्ता गर्न छुटेका पाइएको छ । जिल्लाको बेलौरी , दोधाराचादनी , बेदकोट र कृष्णपुर नगरपालिकामा मङ्सिर १७ गते देखी पुस २ गते सम्म मतदाता नामावली सङ्कलन कार्य गरिएको थियो । तर बेलौरी नगरपालिकामा ३ हजार बढी स्थानीयको नामावली सङ्कलन छुटेको नगरपालिकाले जनाएको छ ।

नामावलीको अन्तिम दिन ६०–७० जना फर्किनुपरेको सम्पर्क व्यक्ति राधा तिमिल्सीनाले बताइन् । उनले कर्मचारी अपर्याप्त हुँदा सबैलाई समेट्न नसकिएको जनाइन् । त्यस्तै बेदकोट र दोधाराचादनी नगरपालिकामा समेत मतदाता नामावलीमा सबैलाई समेट्न नसकिएको जनाइएको छ । बेदकोट नगरपालिकामा ४ सय ९५ महिला र ४ सय १६ पुरुष गरी ९ सय ११ जनाको मात्रै मतदाता नामावलीमा नाम दर्ता गरिएको नगरपालिकाले जनाएको छ ।

दोधाराचादनी नगरपालिकाले १ हजार २ सय ४६ जनाको मात्रै मतदाता नामावली सङ्कलन गर्न सकिएको जनाएको छ । उता कृष्णपुर नगरपालिकाले भने अत्याधीक स्थानीय नाम दर्ता गर्न छुटेका जनाएको छ । नगरपालिकाका सम्पर्क व्यक्ति तथा सूचना अधिकारी प्रेम बोगटीका अनुसार दैनिक सय बढी स्थानीय छुटेका जनाए । निर्वाचन कार्यालयले पठाएको एक जना कर्मचारीले सबै नभ्याएपछि १५ दिनमा २ हजार ३ सय जनालाई मात्रै समेट्न सकिएको उनले जनाए ।

कृष्णपुर नगरपालिकामा देखिएको भिड। 

बिहीबार कृष्णपुर नगरपालिकाका स्थानीयले बस नै भाडामा लिई निर्वाचन कार्यालयमा नाम दर्ता गराउन पुगेका उनले जनाए । कर्मचारी उपयुक्त परिचालन नगरिँदा १५ दिनमा सिद्ध्याउनुपर्ने काम नसिध्धीएको उनले बताए ।

तर जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले भने कर्मचारी अभावका कारण १५ दिनमा केही जानकारी र केहीको नामावली सङ्कलन गर्न सकिएको जनाएको छ । निर्वाचन अधिकृत उदयराज जोशीले कर्मचारी अभाव र उपकरण अभावले एकस्थानिय तहमा एक कर्मचारी खटाइएकोमा सबैलाई समावेश गर्न नसकिएको जनाए । उनले छुटेकालाई जिल्ला निर्वाचन कार्यालय, प्रशासन कार्यालय र त्रिभुवन बस्तीमा गई नामावली दर्ता गराउन आग्रह गरे ।

त्यस्तै पहिलो चरण अन्र्तगत जिल्लाका चार स्थानियतहमा गरिएको मतदाता नामावली संकलनमा ५ हजार ६ सय ९६ जनाको नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भान बहादुर महराले जानकारी दिए । उनले दोस्रो चरणमा पुस २ गते देखी १७ गते सम्म जिल्लाको लालझाँडी, बेल्डाडी गाउँपालिका र सुक्लाफाँटा नगरपालिकामा मतदाता नामावली संकलनको कार्य जारी रहेको जनाए ।

बढीभन्दा बढी मतदाता सहभागी हुन भन्ने उदेश्यले स्थानियतहमै पुगी नामावली दर्ता गर्न थालिएकोमा छुटेकालाई भने जिल्लामै पुगी नामावली संकलन गर्न उनले आग्रह गरे ।

काँग्रेसले बस नै बुक गरी जिल्ला पुगायो

मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका कृष्णपुर नगरपालिकाका स्थानीयलाई भने बस बुक नै गरेर जिल्ला ल्याइएको छ । नेपाली काँग्रेस वडा कार्यासमितीले बिहीबार नेपाली काँग्रेस निकट ७० जनालाई बसको सेवा उपलब्ध गराउँदै जिल्लामा ल्याएर मतदाता नामावलीमा नाम दर्ता गर्न ल्याइएको जनाएको छ ।

नेपाली काँग्रेस ७ नम्बर वडा कार्यसमितिका अध्यक्ष हरि बहादुर गैरालले आज ६५–७० जनालाई जिल्ला निर्वाचन र प्रशासनमा गरी नामावली दर्ताका लागी ल्याइएको जनाए । उनले समितिका तर्फबाट खर्च व्यहोरि उनीहरूलाई मतदाता नामावलीमा नाम दर्ता गराउन ल्याइएको जानकारी दिए । अन्य पार्टीलाई पनी पहल चाल्न उनले सुझाए ।

प्रतिक्रिया दिनुस