कैलाली । कैलालीका अर्जुन दासको हत्या प्रकरणमा न्यायको मागराख्दै स्थानियले गाउँपालिका बन्द गरेका छन् । हत्यामा संलग्नलाई आजीवन कारावास, मृतकलाई शहीद घोषणा, मृतकका छोराछोरीलाई राहत , उच्चशिक्षाको ग्यारेन्टी, परिवारको सुरक्षा लगायत ८ बुँदे माग राख्दै पीडित पक्षले जानकी गाउँपालिकाको कार्यालयमा तालालगाएका हुन् ।
मंगलबार र बुधबार टीकापुरमा विरोध प्रर्दशन गरेका उनीहरूले बिहीबार गाउँपालिका बन्द गर्नुका साथै गाउँपालिका कार्यालय घेराउ गरेका छन् ।संघर्ष समितिका संयोजक ललित परियारले हत्या भएको ६ दिनसम्म पनि हत्या आरोपिलाई पक्राउ गर्न नसकेको भन्दै बिहीबार गाउँपालिकाका वडा कार्यालयहरु पनि बन्द गरेका बताए ।
जानकी गाउँपालिका–९ का २५ वर्षीय दासको यहि मंसिर ३ गते घाँटी रेटेर हत्या गएिको थियो । गत शुक्रबार साँझ घरबाट हिँडेका अर्जुन दास घाँटी काटिएको अवस्थामा शनिबार स्थानीय अमरावती सामुदायिक वनमा मृत फेला परेका थिए । दासको हत्याको जिम्मेवारी लिएको अडियो उनकी श्रीमतीको फेसबुक म्यासेन्जरमा पनि पठाइएको थियो ।
हत्यामा संलग्न एक जना पक्राउ परेका छन् भने अरु तीन जना फरार रहेको प्रहरीले जनाएको छ । घटनापछि उनीहरू गौरीफन्टा नाका हुँदै भारत प्रवेश गरिसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले हत्यामा संलग्नहरूको पहिचान भइसकेकाले उनीहरुलाई नियन्त्रणमा लिन एक्सन लिइएको जनाएका छन् । पीडित परिवारले हत्यामा संलग्नलाई कानुनी कारबाही र अन्य माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान राखेका छन् । अर्जुनको शव टीकापुर अस्पतालमा राखिएको छ ।