महेन्द्रनगर । प्रधानमन्त्री कप सिनियर पुरुष क्रिकेट सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको खेलतालिका सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले सुक्रबार सूचना जारी गर्दे खेल तालिका सार्वजनिक गरेको हो । खेल तालिकाअनुसार छनोट प्रतियोगिता पुस १४ गतेदेखि महेन्द्रनगरको कबडहलमा सुरु हुने छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार सहभागी हुने ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा अछाम, डडेल्धुरा, कञ्चनपुर र दार्चुला रहेका छन् । यस्तै समूह बी मा बैतडी, कैलाली, बझाङ र डोटी रहेका छन् । प्रतियोगिता अन्र्तगत पुस १४ गते पहिलो खेलमा कञ्चनपुर र डडेल्धुरा भिड्दा दोस्रो खेलमा अछाम र दार्चुलाबीच भिडन्त हुनेछ । पुस १५ गते अछाम र डडेल्धुरा प्रतिस्प्रर्धा गर्दा अर्को खेलमा कञ्चनपुर र दार्चुला भिड्नेछन् । पुस १६ गते पहिलो खेलमा दार्चुला र डडेल्धुरा आमनेसामने हुँदा दोस्रोमा कञ्चनपुर र अछामबीच खेल हुनेछ । पुस १७ गते बैतडी र डोटी भिड्दा अर्को खेलमा कैलाली र बझाङ प्रतिस्प्रर्धा गर्ने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ ।

यसका साथै पुस १८ गते पहिलो खेलमा कैलाली र डोटी भिड्दा दोस्रोमा बैतडी र बझाङ आमनेसामने हुनेछन् । पुस १९ गते कैलाली र बैतडीबीच भिडन्त हुँदा दोस्रोमा बझाङ र डोटी मैदान उत्रनेछन् ।
सहभागीमध्ये शिर्ष दुईमा पुग्ने टोलीबीच पुस २० गते फाइनल भिडन्त हुने जनाइएको छ । प्रदेशस्तरिय छनौट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ। नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ गतेदेखि काठमाडौंमा हुदैंछ ।

प्रतिक्रिया दिनुस