कैलाली । अर्जुन दास हत्याप्रकरणका दोषी अझै प्रहरी नियन्त्रणमा नआएका भन्दै आफ्न्तले शव उठाउन मानेका छैनन् । गत शुक्रबार करिब ५ बजेतिर घरबाट निस्केका जानकी गाउँपालिका–९ का दासको गत शनिवार जंगलमा घाँटी अलग गरेको अवस्थामा शव फेला परेको थियो । अमरावती सामुदायिक वनमा मृत फेला परेका उनको शव तीन दिनपछि घटनास्थलबाट उठाइएको थियो ।

साता दिन बित्दा पनी आफ्न्तले शव उठाउन मानेका छैनन् । पोस्टमार्टमपछि उनको शव अस्पतालमै छ । हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने उनिहरुले अडान लिएका छन् । मृतक अर्जुनका आफन्त तथा स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी आजीवन कारावासको सजाय हुनुपर्ने माग गर्दै शव नउठाएर विरोध प्रदर्शन र राजमार्ग अवरुद्ध गरिरहेका छन् ।

दासको हत्या भएपछि स्थानीयले ललित परियारको संयोजकत्वमा संघर्ष समिति समेत बनाएको छ । तर प्रहरीले भने घटनामा संलग्नहरूको पहिचान भइसकेका र उनीहरूलाई चाँडोभन्दा चाँडो पक्राउ गरिने जनाएको छ । प्रहरी उपरीक्षक विश्व अधिकारीले घटनामा संलग्न आरोपित एक जनालाई पक्राउ गरी अनुसन्धान जारी रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुस