सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने सरकारको नीतिलाई कार्यान्वयनमा लैजान सरकारले आवश्यक तयारी गरिरहेको बताएका हुन् ।

अनलाइन पत्रकार संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अनलाइन सञ्चार माध्यमलाई विश्वसनीय, जवाफदेही र मर्यादित बनाउन विशेष पहलकदमी लिन पत्रकारहरुलाई पनि आग्रह गरे । उनले अनलाईन सञ्चारमाध्यमलाई मर्यादित बनाउन सरकारले पनि पत्रकारहरूसँगै बसेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । मन्त्री कार्कीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको पक्षमा सधैं दृढतापूर्वक उभिने दोहोर्याए ।

उनले भने, ‘अनलाइन सञ्चारमाध्यमलाई अन्य सञ्चारमाध्यम सरह सरकारले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने घोषणा र प्रतिवद्धता व्यक्त गरिसकेको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक तयारी र गृहकार्य गरिराखेको छ । अनलाइन सञ्चारमाध्यमलाई जवाफदेही र मर्यादित बनाउन आजको आवश्यक्ता हो । अनलाइन पत्रकार संघले अनलाईन पत्रकारिता तथा श्रमजीवी पत्रकारको पक्षमा गरेको कार्यप्रति म जानकार छु । अबका दिनमा पनि यस्ता राम्रा कार्यले निरन्तरता पाउने आशा र अपेक्षा लिएको छु र यहाँ व्यक्त गर्न चाहन्छु ।’ मन्त्री कार्कीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको पक्षमा सधैं उभिने दृढता समेत व्यक्त गरे । उनले भने, ‘स्वतन्त्र पत्रकारितालाई प्रवद्र्धन, सम्बर्द्धन गर्ने सवालमा इन्टरनेट वा कुनै माध्यमको आधारमा सरकारले भेदभाव नगर्ने कुरामा यहाँहरुलाई आश्वस्त पनि पार्न चाहन्छु । अनलाइन पत्रकारिताले व्यवसायिक, निष्पक्ष र मर्यादित पत्रकारितालाई अगाडि बढाइरहेको छ । अबको दिनमा पनि यस्तै कार्य अझ परिस्कृत रुपमा अघि बढन सकून् भन्ने अपेक्षा गर्दछु । विश्वसनीयता कायम गर्न, जवाफदेहीता कायम गर्न र यसलाई मर्यादित बनाउनका निमित्त तपाईँहरूबाट विशेष पहल हुनेछ भन्ने मैले अपेक्षा लिएको छु । र यसका निमित्त सरकारले र सञ्चार मन्त्रालयले तपाईंहरुको साथमा रहेर काम गर्नेछ ।’

मन्त्री कार्कीले मुलुकको विकास र समृद्धिका लागि सञ्चार माध्यमसहित सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुस