महेन्द्रनगर । भीमदत्त नगरपालिका –७ हल्दुखालमा ४० वर्षपछि भुवा भुस्सा पर्व मनाइने भएको छ । संस्कृतीको जगेर्ना गर्न सिद्ध सामुदायीक सेवा समितीले पुर्वसंध्यामा पत्रकार सम्मेलनको आयोजना गरि जनसेवा माविमा भुवा भस्सो खेलिने जनाएको हो ।

पुष १८ गते देखी भुवा भस्सो खेलिन लागिएको आयोजक समितिका अध्यक्ष तथा देउडा गायक लक्ष्मण अधिकारीले जानकारी दिए । उनले भने,– ‘यो पर्व लोभ हुदै गइरहेपछि ४० वर्ष पछि मौलिक परम्पराको जगर्ने गर्न उदेस्यले भुवा भुस्सा खेलिने छ।’ सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने उक्त कार्यक्रममा सुदूरपश्चिमका वरिष्ट गायक नरेन्द्रराज रेग्मी, देउडा गायक लालबहादुर धामी, गायिका संगीता शाह, गायक तथा र्यापर अराज केशव र गायक लक्ष्मण अधिकारीको विशेष प्रस्तुति रहनेछ । साथै कार्यक्रममा महिलाको देउडा खेल समेत हुने अध्यक्ष अधिकारीले बताए ।

यो पर्व खासगरी सुदूरपश्चिमका बझाङ, बाजुरा र अछाम जिल्लामा प्रत्येक वर्ष मनाइन्छ । झण्डै चार दशकअघिसम्म हल्दुखालमा समेत धुमधामसाथ यो पर्व खेलिन्थ्यो । द्वापरयुगदेखि महाभारत युद्धपश्चात असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा पाँच पाण्डवले यो पर्व चलाएको मानिन्छ । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार बझाङ, बाजुरा र अछाममा सार्वजनिक विदा समेत दिएको छ । ढाल, तरबार समातेर बाजाको चाल अनुसार चाल मिलाउँदै खेलिने यो मौलिक पर्व पुष महिनाको औँसीदेखि पूर्णिमासम्म वा माघ मसान्तसम्म इच्छा अनुसार खेल्न सकिन्छ ।

प्रतिक्रिया दिनुस