प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटअन्तर्गत बैतडीले विजयी शुरुआत गरेको छ । महेन्द्रनगरको खुलामञ्चमा आज सम्पन्न छनौटको पहिलो खेलमा डोटीलाई १९९ रनले पराजित गर्दै बैतडीले विजयी शुरुआत गरेको हो । बैतडीले दिएको ३४१ रनको विशाल लक्ष्य पछ्याएको डोटी ३२.२ ओभरमा १४१ रनमा समेटियो ।

डोटीका लागि क्रिस ऐरले ३८, हृदय विडारीले २८, खगेन्द्र जोशीले २३, आयुष खड्काले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बैतडीका लागि वीरेन्द्र नाथले उत्कृष्ट बलिङ गर्दै ५ विकेट हात पारे । यस्तै जगदीश चन्दले २, कप्तान राम चन्द र लोकेन्द्र चन्दले १र१ विकेट लिए । त्यसअघि कभर्डहल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित ३५ ओभरमा ५ विकेटको क्षतिमा ३४० रनमा बनायो। जसमा दीपक बोहराले शतकीय पारी खेल्दै १११ रन जोडे ।

यस्तै गजेन्द्र बोहराले ९० र लोकेन्द्र चन्दले ६४ रन बनाए । डोटीका सविन महराले २, भोजराज भट्ट र रिदम बलायरले १र१ विकेट झारे । बैतडीका दीपक बोहरा म्यान अफ द म्याच चुनिएका सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिए । प्रदेशस्तरीय छनौट प्रतियोगितामा यहाँका ८ टोली सहभागी छन्। सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनौट गरेर सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ देखि गतेदेखि काठमाडौंमा हुँदै छ ।

प्रतिक्रिया दिनुस