डोटीको दिपायल सिलगढी नगरपालिका–५ घोलतडागाउँको पूरै बस्तीलाई सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको छ । यस बस्तीलाई जिल्लाभरिमा पहिलोपटक सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको हो । बस्तीभरिमा रहेका ७८ घरधुरीमा शौचालय निर्माण गरिनुका साथै मिटरसहितका शुद्ध खानेपानीका धारा जडान गरिएपछि शनिवार सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको वडाध्यक्ष मदन भण्डारीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिसेफ नेपाल र गैरसरकारी संस्था निड्स नेपालको समन्वय र सहकार्यमा यस गाउँलाई सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको निड्स नेपालका दीर्घराज ओझाले बताए । यहाँका सबै घरमा केही महिना अगाडि ‘एक घर एक धारा’ निर्माण भएपश्चात पानीमा शुद्धताको परीक्षण गरी जिल्लामा रहेका सरोकारवाला निकाय, पालिकाको अनुगमनपश्चात औपचारिक कार्यक्रम आयोजना गरी यस बस्तीलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो । यस गाउँलाई खुला दिसामुक्त क्षेत्रसमेत घोषणा गरिएको छ ।

विगत वर्षहरूमा यहाँका स्थानीयवासी शुद्ध खानेपानीका लागि स्थानीय द्धाराखोला, सेती नदी र नाउलाको पानी उपभोग गर्न बाध्य थिए । युनिसेफ र निड्स नेपाल संस्थाले ‘एक घर एक धारा’ कार्यक्रमको थालनी गरेर घरआँगनमै पानी पुर्याएपछि पछिल्लो समय सफा, स्वच्छता पानी उपभोग गरिरहेको दिपायल सिलगढी नगरपालिका–५ का स्थानीयवासी दिलबहादुर भण्डारीले बताए । उनले भने, ‘पानीका लागि निकै समस्या थियो, अहिले घरघरमै शुद्ध पानीका धारा जडान भएका छन्, नागरिकलाई निकै सहज हुनुका साथै समय पनि बचत भएको छ ।’ घरघरमा स्वच्छ खानेपानीका धाराबाट पानी खान पाउँदा यहाँका नागरिक निकै हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुस