महेन्द्रनगर । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले सुदूर-पश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिको कार्यकक्षमा गरिएको तालाबन्दी नखोल्ने चेतावनी दिएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दे अनेरास्ववियूले वार्ताका माध्यमबाट माग सम्बोधन नगरिए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको हो । पुष ७ गते उपकुलपति अम्मरराज जोशीको कार्यकक्षमा तालाबन्दी गरेको अनेरास्ववियूले विभिन्न १३ बुँदे माग अघि सारेको छ ।

नेकपा एस निकट अनेरास्ववियूले विश्वविद्यालयमा नियमावली, मापदण्ड विपरीत र राजनीतिक लाभका लागी गरिएका डीन, निर्देशक र सह–परीक्षा नियन्त्रकका नियुक्तिहरू तत्काल खारेज गरिनुपर्ने , प्रवेश परीक्षा शुल्क निःशुल्क गरिनुपर्ने , अनलाइन परीक्षामा भए गरेका अवैधानिक कार्यहरूको छानबिन गरी दोषी उपर कारबाही गरिनुपर्ने , शिक्षक, कर्मचारीको हकमा खुला प्रतिस्पर्धालाई निरुत्साहित हुने गरी गरिएको कदम खारेज गरिनुपर्ने, पुस्तकालयमा पाठ्यपुस्तक परिपूर्ति, केन्द्रीय पुस्तकालयलाई प्रविधि मैत्री सहित अन्तर्राष्ट्रिय स्तरको ई–लाइब्रेरीको व्यवस्था गरिनुपर्ने , विज्ञान तथा प्रविधि संकाय तर्फ प्रयोगशाला भवन, सामाग्रीको तत्काल समाधान गरिनु पर्ने , दोहोरो प्राध्यापनलाई अन्त्य गरिनुपर्ने , विश्वविद्यालयमा राजनैतिक प्रतिसोध साध्न सेवा सुविधा बाट वञ्चित गरी अन्य पदाधिकारीमाथि भइरहेको निरङ्कुश र तानासाह प्रवृत्तिको अन्त्य गरिनुपर्ने , लेखा परीक्षण, सभा, प्राज्ञिक परिषद्, कार्यकारी परिषद्ले गरेका निर्णयहरू वेबसाइटमा राखिनुपर्ने, व्यक्तिगत हितका लागी गरिएका नियमावली संशोधनहरू खारेज गरिनुपर्ने र परीक्षा नियन्त्रक कार्यालयबाट सञ्चालित परीक्षाको २ महिना भित्र नतिजा प्रकाशन गरिनुपर्ने माग राखेको छ ।

नेकपा एस निकट अनेरास्ववियूका जिल्ला संयोजक रमेश पन्तले उपकुलपति चन्दको कार्यकक्षमा तालाबन्दी गरिएसँगै आफूहरूका माग प्रति सम्बन्धित निकाय जिम्मेवार नभएको बताए । मागहरू सम्बोधन नगरिए सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत उनले दिएका छन् ।

प्रतिक्रिया दिनुस