महेन्द्रनगर ।कञ्चनपुरमा सशस्त्र प्रहरीका सईले तस्करबाट ५० हजार घुस लिएको आरोप लागेको छ । पुनर्वास नगरपालिकामा रहेको आपताल बिओपीका सशस्त्र प्रहरी नायब निरीक्षक वीरेन्द्र चन्दले एक तस्करबाट ५० हजार घुस लिएको आरोप लागेको हो । शनिबार साँझ भारतीय बजार बसहीबाट मोटरसाइकलमा हार्डवेयरका सामान ल्याउँदै गर्दा भारतीय तस्कर मुन्ना गुप्ता पक्राउ परेका र गुप्ताबाट ५० हजार रकम घुस लिएर सई चन्दले राति नै मोटरसाइकलसहित उनलाई छोडिदिएको आरोप लागेको हो ।
यसबारे सई चन्दसँग बुझ्न खोज्दा उनले घुस लिएर तस्कर भगाएको कुरा झुटो भएको बताए ।उनले भने, ‘यो झुटोे हो, तस्करले मोटरसाइकलमा हार्डवेयरको सामान बोकेको थियो, हामीले उसलाई पछ्याउने क्रममा सामान छोडेर भाग्यो । तस्कर समात्न सकेनौँ ।’ उनले २८ हजार मूल्य बराबारको उक्त सामान त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाइसकेको बताए ।
चन्दलाई आपताल बिओपीमा काम गर्न थालेको एक हप्तामै घुस लिएर तस्कर भगाएको आरोप प्रहरीभित्रैबाट लागेको हो । गत वर्ष मात्रै धनगढीको जुगेडामा तस्करहरुलाई रोक्न खोज्दा प्रहरीका असई र प्रहरी जवानले ज्यान गुमाएका थिए।