दार्चुला —लेकाली भेगमा हिमपातपछि चरनको समस्या हुँदा भेडीगोठ बेंसी सर्न थालिएको छ । हिउँदयाममा चिसो छल्न उच्च हिमाली क्षेत्रबाट लेकमा सारिएका भेडीगोठहरू हिमपातपछि धमाधम बेंसी झार्न थालिएको हो । ‘थोरै चरन क्षेत्र रहेको लेकाली भेगमा अहिले हिउँ जमेको छ,’ भेडाबाख्रा व्यवसायी जमन महराले भने, ‘चरन क्षेत्र पूरै हिउँले ढाकेको छ । चिसो र चरनको समस्या हुँदा भेडीगोठ बेंसी झारिसकेका छौं ।’

अघिल्लो साताको हिमपातपछि लेकाली क्षेत्रमा अत्यधिक चिसो बढेको उनले बताए । चिसो बढेपछि भेडीगोठलाई बस्ती नजिक सारिए पनि चरन क्षेत्रको भने अभाव रहेको उनले गुनासो गरे । बस्ती नजिक सामुदायिक वन र खेतीपाती लगाएको हुनाले चरनका लागि अप्ठ्यारो हुने गरेको उनले सुनाए । ‘स्थानीयले बेंसीमा भेडाबाख्रा चराउन दिँदैनन् । यसले व्यावसायिक भेडापालन गर्नेलाई समस्या परेको छ,’ उनले भने ।

जिल्लाको व्यास र अपीहिमाल गाउँपालिकामा अधिक भेडापालन हुन्छ । प्रशस्त चरन क्षेत्र भएकोले पनि यस क्षेत्रमा सबैजसो स्थानीयले भेडा पाल्ने गरेको व्यास गाउँपालिका–३ का चन्द्रसिंह धामी बताउँछन् । तर बेंसी झारिएका भेडालाई चरनक्षेत्रको अभाव हुँदा अप्ठ्यारो परिरहेको उनले गुनासो गरे । क्रमिक रुपमा चरन क्षेत्र घट्दै गएको हुनाले भेडापालन संकटमा परेको व्यवसायीहरू बताउँछन् । पहिले प्रशस्त जंगल भएकोले जिल्लाका सबै ठाउँमा भेडाबाख्रा पालिन्थ्यो । अहिले उपल्लो क्षेत्रमा मात्रै व्यवसाय सीमित छ ।

हिमपात भएसँगै बढेको चिसोले भेडाबाख्रा जोगाउन समस्या परिरहेको अपीहिमाल गाउँपालिकाका व्यवसायी गम्भीर मन्यालले बताए ।

प्रतिक्रिया दिनुस