निर्वाचन आयोगले आगामी वैशाख महिनामा स्थानीय तहको चुनाव गर्नको लागि माघ पहिलो साता निर्वाचनको मिति घोषणा गर्न प्रस्ताव गरेको छ । प्रमुख दलहरुसंग शुक्रवार आयोजना गरिएको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यथासक्य छिटो निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका हुन् ।

‘स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीको ५ वर्षे पदावधि २०७९ साल जेठ ५ गते समाप्त हुने र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न कम्तिमा ५३ क्रियाकलापहरू सम्पन्न गर्नुपर्ने हुँदा यसका लागि कानूनतः १२० दिन आवश्यक पर्ने भएकोले यही २०७८ माघको पहिलो हप्ता भित्रै निर्वाचनको मिति नतोकिएमा प्राविधिक, व्यवस्थापकीय एवम् व्यवहारिक दृष्टिले निर्वाचन गर्न कठिन हुने हुँदा यस विषयलाई गंभीरतापूर्वक लिन राजनैतिक दल तथा सरोकारवाला सबैको ध्यानार्कषण गराइयो’ आयोग प्रवक्ता शालिकराम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोगले एकै चरणमा गर्ने भए वैशाख १४ र दुइ चरणमा गर्ने भए वैशाख १४ र २२ गते निर्वाचन मिति घोषणा गर्न प्रस्ताव गरेको थियो । बैठकमा सहभागि कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले आयोगको प्रस्तावबारे सरकारले छिट्टै निर्णय लिने बताएका छन् ।

प्रतिक्रिया दिनुस