कञ्चनपुर । सौर्य मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे (मकर) सङ्क्रान्ति भनिन्छ । सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ। थारु समुदायले आज धुमधामसँग माघी पर्व मनाउँदै छन्।

माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छ। हिन्दु धार्मिक मान्यताअनुसार उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी, कुश्माण्डलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ।
तराईवासीले माघ १ गतेलाई नहानअर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउनेले पनि आज अनिवार्य नुहाउनुपर्ने मान्यता छ। माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन मकवानपुरको कुश्माण्ड सरोवर त्रिवेणी धाम, भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ।

माघ महीनामा माघ माहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवादअर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि शुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।

यस वर्ष माघ ३ गतेदेखि श्री स्वस्थानी व्रतकथा शुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यो व्रत गर्नेले चान्द्रमास अनुसार माघ महीनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन्।

प्रतिक्रिया दिनुस