शुक्लाफाँटा नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्यले गति लिने भएको छ। बुधबार सरकारले वन क्षेत्रको जग्गाको भोगाधिकार दिने निर्णय गरेपछि फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्य अगाडि बढ्ने भएको हो। वन तथा वातावरण मन्त्रालयले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि सामुदायिक वन क्षेत्रको जग्गाको भोगाधिकार (प्रयोग गर्ने) दिने निर्णय गरेको नगर प्रमुख दिलबहादुर ऐरले बताए। ‘मन्त्रालयले सामुदायिक वन क्षेत्रको जग्गामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि स्वीकृति प्रदान गर्दा तीन वर्षदेखि कार्य अलपत्र परेको थियो‚’ उनले भने, ‘सामुदायिक वनको नौ बिघा १० कट्ठा जग्गामा ३० करोड रूपैयाँ लागतमा केन्द्र निर्माणका लागि बाटो खुलेको छ। चाँडै ठेक्का प्रक्रियामार्फत निर्माण अगाडि बढ्छ।’

सामुदायिक वनले केन्द्र निर्माणका लागि जग्गा उपलव्ध गराउने निर्णय गरे पनि डिभिजन वन कार्यालय कञ्चनपुरले नेपाल सरकारबाट जग्गाको भोगाधिकार नआउँदासम्म फोहर व्यवस्थापन केन्द्र निर्माणको कार्य गर्न दिएको थिएन। जग्गाको भोगाधिकार प्राप्त गर्नका लागि मन्त्रिपरिषद्को बैठकको निर्णय मात्र वैधानिक हुने तर नगरले यस्तो वैधानिकता प्राप्त नगरेको भन्दै वन कार्यालयले निर्माण गर्न रोक लगाउँदै आएको थियो। केन्द्र निर्माणका लागि माटो परीक्षण र प्रारम्भिक वातावरणीय परिक्षण र वातावरणीय प्रभाव मूल्याङको कार्य यसअघिनै गरिएको छ।

एसियाली विकास बैंकले सञ्चलन गरेको क्षेत्रीय शहरी विकास योजना अन्र्तगत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणलाई पहिलो सर्तका रुपमा राखिएको छ। क्षेत्रीय शहरी विकास योजनाको २० वर्षे योजनाको पहिलो चरण अन्तर्गत फोहरमैला व्यवस्थापन केन्द्रसहित अन्य पूर्वाधार निर्माणका कार्यक्रम नगरपालिकामा अघि बढेको छ। बैंकको सहुलियत ऋण सहयोगमा चार किलोमिटर सडक र नगरपालिका भवन निर्माणको कार्य अघि बढेको छ।

प्रतिक्रिया दिनुस