दिपकराज भट्ट( डिआर भट्ट)
डडेल्धुरा — डडेल्धुरा सदरमुकाम बागबजारमा ‘कपडा बैंक’ सञ्चालन गरिएको छ। बागबजारको मुख्य चोक भीमदत्त चोकको सडक छेउमा सोमबारदेखि कपडा बैंक सञ्चालन गरिएको हो।पछिल्लो समय देशको संघीय राजधानी काठमाडौंमा कपडा बैंक सञ्चालन गरिएसंगै अहिले युवाहरुले विभिन्न शहर बजारमा कपडा बैंक सञ्चालन गर्दै आएका छन्। कपडा बैंक सञ्चालन भएसंगै आफूसंग भएकाहरुले कपडा दान गरि रहेका छन् भने आवश्यकता परेका विपन्न गरिव समुदायका स्थानीयहरुले लैजाने गरेका छन्।

सेवा नै मानिसको सबै भन्दा ठूलो धर्म हो भन्दै डडेल्धुराका तीन युवा पदम भण्डारी, व्रिजेश शाही र सिद्धराज भट्टको सक्रियतामा बैंक सञ्चालनमा आएको हो।घरमा रहेका पुराना कपडा संकलन गरी विपन्न वर्ग समुदायका व्यक्तिलाई दिन कपडा बैंक सञ्चालन गरिएको हो। सोमबार सञ्चालन गरिएको कपडा बैंकमा दुई दर्जन बढी विपन्न वर्ग परिवारका व्यक्तिहरुले संकलन भएका लुगा कपडा लगेको सञ्चालक भण्डारीले बताए।
लुगा चाहिन्छ यहाँबाट लिनुहोस्, पुराना सफा कपडा यहाँ छोडिनुस्, लेखिएको ब्यानर लगाइ कपडा बैंक सञ्चालन गरिएको छ। सोमबार संलन भएका सबै लुगा विपन्न समुदायका स्थानीयहरुले लगेको उनले बताए।आफूले लगाइ सकेको तर अझै पनि प्रयोग गर्न मिल्ने खालको कपडा चप्पल र जुत्ता छन् भने हामीले सुरू गरेको कपडा बैंकमा ल्याएर जम्मा गर्न सक्नुहुन्छ ।

उनले भने, ‘किनकी कतिपयको घरमा साइज नमिलेर पनि कपडा त्यत्तिकै बसेको हुन्छ, फाल्न पनि मन लाग्दैन्। जोकसैलाई सहजै दिन पनि अप्ठ्यारो भएमा अब यहाँ ल्याएर राखिदिए आवश्यक पर्नेले सित्तैमा लैजान सक्छन्।’ हिंसा र लागुऔषध मुक्त समाज निर्माण गरौ भन्ने शन्देस समेत लेखिएको ब्यानर लगाइ भण्डारीले कपडा बैंक सञ्चालन गरेका छन्। उक्त कपडा बैंक एक महिना संचालनमा आउने बताइएको छ।

प्रतिक्रिया दिनुस