कञ्चनपुर , कञ्चनपुरको भीमदत्त नगरपालिका १७ मझगाउँ स्थित महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मृत्यु प्रकरणमा कञ्चनपुर जिल्ला आदालतले अध्यक्ष, प्रिन्सिपललाई धरौटीमा रिहा गर्न र तीन जना शिक्षकलाई जेल चलान गर्न आदेश दिएको छ ।

कञ्चनपुर जिल्ला आदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले दुईदिन सम्म चलेको थुनछेक बहसपछि जिल्ला न्यायाधिश गोपाल प्रशाद बास्तोला नेतृत्वको एकल इजलासले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरन्ज प्रशाद बोहराबाट एक लाख, प्रिन्सिपल यशोदा जोशीबाट तीन लाख धरौटी लिन र तीन शिक्षक लक्ष्मण प्रशाद भट्ट, दुर्गादत्त पाठक र हर्क बहादुर जाग्रीलाई पुरपक्षका लागि कारागार चलान गर्न आदेश दिएको बताए ।

उनका अनुसार मंगलबार पाँच बजेसम्म पनि धरौटी तिर्न नसके अध्यक्ष र प्रिन्सिपल बोहरा पनि जेल जाने बताए । गत असारमा मृतक माधवका मामा पुष्पमणी जोशीले अध्यक्ष बोहरा, प्रिन्सिपल जोशी सहित तीन शिक्षक बिरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को अनुसुची–१ बमोजिम ज्यान सम्बन्धी कसुर मुद्दा दायर गरेका थिए ।

माधवले शिक्षकले नै कुटपिट गरेको बताएपछि उनको शुरुमा डडेल्धुराको उप क्षेत्रीय अस्पतालमा उपचार गरिए, त्यसपछि महाकाली हुँदै नेपालगन्जको शिक्षण अस्पतालमा उपचारपछि भारतको राममूर्तिमा उपचार गर्दागर्दै मृत्यु भएको थियो ।

बैतडी शिवनाथ गाउँपालिका–२ सर्मली घर भएका कलौनी भीमदत्त नगरपालिका ५ बनगाउँ मामाघरमा बसेर अध्ययन गर्दै आएका थिए । उनको मृत्युले कलौनी परिवार शोकमा डुबेको छ । विद्यालयको घटनाले विद्यालयमा विद्यार्थीको व्यवहार सुधार हुने, कि झन बिग्रीने आँकलन गर्न सकिएको छैन् ।

प्रतिक्रिया दिनुस