कञ्चनपुर । भूमिहिन नागरिकलाई जमिन दिनका लागि राष्ट्रिय भूमि आयोग र कञ्चनपुरका चार पालिकाविच सम्झौता भएको छ । बिहीबार राष्ट्रिय भूमि आयोगले कञ्चनपुरका चार पालिकासंग सम्झौता गरेको हो ।
राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्रराज ढुङगानाले चार पालिकासंग सम्झौता भएको बताए । अध्यक्ष ढुङ्गानाका अनुसार बेलडाँडी गाँउपालिका, पुनर्वास, शुक्लाफाँटा र भीमदत्त नगरपालिकाविच सम्झौता भएको छ । यस अघि आयोगले कृष्णपुर नगरपालिकासंग सम्झौता गरेको थियो । यो संगै आयोगले कञ्चनपुरका पाँच पालिकासंग सम्झौता गरेको छ ।
भूमिहिन दलित, भूमिहिन सुकुमबासीलाई जमिन उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि सम्झौता भएको हो । कञ्चनपुरका पाँच पालिकासंग आयोगले सम्झौता गरेसंगै कामकाज अघि बढ्ने बताएका छन ।
आयोगका केन्द्रीय सदस्य टेक बहादुर शाह, जिल्ला अध्यक्ष देवेन्द्रराज ढुङ्गाना, बेलडाँडी गाँउपालिका प्रमुख धन बहादुर थापा, पूनर्वास नगर प्रमुख जिवनराज थापा, शुक्लाफाँटा नगरपालिका दिल बहादुर ऐर र भीमदत्त नगर उप प्रमुख शुशिला चन्दले सहमती पत्रमा हस्ताक्षर गरेका छन । यस अघि स्थानीय तहले भूमिहिन दलित, भूमिहिन सुुकुमबासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरेको थियो । आयोगसंग सम्झौता गरेका कञ्चनपुरका पालिकाले अब भूमिहिन दलित, सुकुमबासी एव अव्यवस्थित बसोबासीलाई जमिन दिने काम अघि बढने बताएका छन । सम्झौतासंगै गठबन्धन सरकारका पालामा कञ्चनपुरका भूमिहिन जनता जमिनका मालिक बन्ने भएका छन ।