नवलपुर माघ २६। एमसीसी विरुद्धको अभियानमा सत्ताधारी दल नेकपा माओवादी केन्द्र, नेकपा संघीय समाजवादी, राजावादी पार्टी राप्रपा र जनगणतन्त्रवादी पार्टी नेकपा क्रान्तिकारी माओवादी र विप्लप नेतृत्वको नेकपा एकै ठाउँमा उभिएका छन् ।

बुधबार पूर्वी नवलपरासीको कावासोतीमा यि पाँच दलले संयुक्त रुपमा राष्ट्रघाती एमसीसी विरुद्ध र्याली सहित कोण सभा समेत गरेका छन् ।

र्याली कावासोतीको फलफूल चोक सहिद पार्कबाट सभापति चोक, कावासोती नगरपालिका चोक, विपी चोक हुँदै पुन फलफूल चोक सहिद पार्कमा आएर कोण सभामा परिणत भएको थियो ।

 

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य अशोक लम्सालले कुनै पनि हालतमा एमसीसी पास गर्न नहुनेमा जोड दिंदै एमसीसी पास नै गर्ने भए मुठ्ठी भरको नेताको हाली मुहाली रहेको संसदबाट नभई जनमत संग्रहबाट पास गर्नु पर्नेमा जोड दिए ।

उनले भने – नेपाल जस्तो विकासउन्मुख देशले कुनै पनि देशको सहयोग लिनु सामान्य कुरा हो तर, यो कस्तो सहयोग हो जुन एक पटक संसदबाट पास गरेपछि नेपालले चासै लिन नपाउने ? यसले पनि यो सहयोगको नाममा नेपाललाई युद्धभूमि बनाउने खेल हो भन्ने प्रष्ट हुन्छ ।’

उनले चिनलाई भारत र अमेरिका मिलेर घेर्न, नेपालमा बसेर शैनिक आक्रमण गर्न एमसीसी परियोजना ल्याएकोले यो अमेरिकी शैनिक अखडा बनाउने परियोजना भएको बताए ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य किशान शर्मा गैरेले माओवादी केन्द्रको महाधिवेशनबाट एमसीसी पास नगर्ने नीति पारित गरेकोले नेताहरुलाई एमसीसी पास नगर्न खबरदारी गरिरहनु आवश्यक रहेकोमा जोड दिए ।

त्यसैगरी विप्लव नेतृत्वको नेकपा नवलपुरका जिल्ला सेक्रेटरी दलबहादुर कुमाल चितलले एमसीसी रोक्नका लागि अथवा एमसीसी पास हुने अवस्थामा रहेमा घरघरमा रहेको हतियार उठाएर भएपनि जनतालाई सडकमा उतार्ने चेतावनी दिए ।

नेकपा क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी उत्तम थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा समाजवादी नवलपुरका जिल्ला अध्यक्ष सालिकराम भट्टराई, राप्रपा नवलपुरका अध्यक्ष विष्णु अधिकारी, केदार पराजुली लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुस