काठमाडौं । नेकपा ( क्रान्तिकारी माओवादी ) निकट अखिल नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजातिहरुको अधिकार प्राप्तिको लागि सशक्त आन्दोलन तथा संघर्षको उद्घोष गर्दै २५ औं विश्व आदिवासी दिवस भव्य रुपमा मनाइएको छ ।

महासंघले बसन्तपुरबाट झाँकीसहित निकालेको ¥याली न्यूरोड, रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदयमोड, प्रदर्शनीमार्ग हुँदै राष्ट्रिय सभागृहमा पुगेर विशेष समारोहमा परिणत भएको थियो । उक्त विशेष समारोहलाई नेकपा क्रान्तिकारी माओवादी का महासचिव मोहन वैद्य‘किरण’, आयोजक महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीका डिके बुद्धिष्ट, लोकतान्त्रिक पार्टीका भानुराम थारु, खसान राष्ट्रिय संघर्ष समितिका प्रेमबहादुर खाती, बिगेसोका अध्यक्ष पदमसुन्दर लिम्बू, मधेसी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष महेश यादव, दलित मुक्ति मोर्चाको तर्फबाट केशबहादुर परियार, अनेमसंघ ९क्रान्तिकारी०को तर्फबाट अम्बिका मुडभरी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

समारोहमा वक्ताहरुले आदिवासी जनजातिहरुको मुक्तिका लागि जातीय मुक्ति आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँग जोडेर लैजानु पर्ने र सशक्त रुपमा आन्दोलनको उठान गर्न तत्पर रहनु पर्ने कुरामा जोड दिएका थिए ।

समारोहमा जनगायक जीवन शर्मा, शम्भू राई, निलिमा पुन, मेनु नेम्बाङलगायतले मुक्तिकामी गीत संगीतको प्रस्तुती गरेका थिए भने नेवा, तामाङ, किरात, बोम्बो समुदायले साँस्कृतिक पहिचान झल्कने झाँकीहरु प्रस्तुत गरेका थिए । सामना साँस्कृतिक परिवार, काभ्रे साँस्कृतिक परिवार लगायतले पनि गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

समारोहमा मुक्तिकामी आदिवासी जनजातिका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, महासचिव परि थापा, स्थायी समिति सदस्य रामसिंह श्रीसलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस