कञ्चनपुर ।प्रगतिशील लेखक सङ्घ कञ्चनपुरको अध्यक्षमा धर्मानन्द भट्ट चयन भएका छन् । सनिवार भएको प्रगतिशील लेखक सङ्घ कञ्चनपुरको ५ औं जिल्ला अधिवेशनबाट सर्वसम्मतले भट्ट अध्यक्षमा चयन भएका हुन् । सङ्घको उपाध्यक्षमा सन्तोष विष्ट, सचिवमा कैलाशचन्द्र गिरी, सहसचिवमा प्रतिभा भट्ट र कोषाध्यक्षमा प्रकाशचन्द्र कलौनी चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यमा केशवराज पन्त, चन्द्रबहादुर थापा, मञ्जु परियार, राकेश चन्द र जनक कुँवर चयन भएका छन् । एघार सदस्यीय जिल्ला कार्यसमितिमा १० जना अधिवेशनले चयन गरेको र एक जना कार्यसमिति सदस्य नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकबाट चयन गरिने प्रलेस कञ्चनपुरका निवर्तमान अध्यक्ष रमेशपन्त मीतबन्धुले जानकारी दिनुभयो ।
निवर्तमान अध्यक्ष मीतबन्धुको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा प्रगति लेखक सङ्घका केन्द्रीय सचिव बाबुराम आचार्य प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिमा प्रलेस केन्द्रीय सचिवालय सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष जनक रसिक, प्रलेस राष्ट्रिय परिषद् सदस्य तथा पूर्व अध्यक्ष कल्यान ओझा र प्रलेस सुदूरपश्चिम प्रदेश उपाध्यक्ष चन्द्रकला पन्त रहेका थिए ।
कार्यक्रममा प्रलेस कञ्चनपुरले विभिन्न साहित्यकार एवम् स्रष्टाहरुलाई सम्मान समेत गरेको छ । उक्त अवसरमा प्रलेस कञ्चनपुरका पूर्व अध्यक्ष चन्द्रकला पन्त, कल्यान ओझा र वीर बहादुर चन्द बिश्रामलाई सम्मान गरिएको थियो । सोही अवसरमा प्रगति लेखक सङ्घ कञ्चनपुरको वार्षिक मुखपत्र अरूणोदयको पहिलोदेखि पाँचौ अङ्कसम्मका सम्पादक मण्डललाई समेत सम्मान गरिएको निवर्तमान अध्यक्ष मीतबन्धुले जानकारी दिनुभयो । उहाँका अनुसार सम्पादक मण्डलमा रहेका चन्द्रकला पन्त, खगेन्द्र जोशी, गोविन्द श्रृङ्खला, यादवनाथ शर्मा, रमेश पन्त मीतबन्धु, नारायण लम्साल, जगदीश ओझा, कविराज भट्ट, धर्मानन्द भट्ट, गंगाप्रसाद रिजाल, प्रतिभा भट्ट, प्रेमप्रकाश कलौनी, सुरेन्द्र प्रसाद जोशीलाई सम्मान गरिएको हो ।
यसैबीच कार्यक्रममा प्रगतिशील प्रतिभा पुरस्कार २०७८ बाट साहित्कार जगदीश ओझालाई समेत सम्मान गरिएको छ । कार्यक्रमको बन्द सत्रमा प्रलेस कञ्चनपुरको साङ्गठनिक तथा आर्थिक प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।