कञ्चनपुर, फाल्गुन ,१८ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थी नेता हेमराज अवस्थीले आफ्नो मृत्यु भएको भन्दै मिडिया र फेसबुकमा झुठो प्रचार गर्ने व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोमा दिइएको उजुरीमा नेता अवस्थीले छानबिन गरी उनीहरुमाथि कारवाही र आफूलाई क्षतिपूर्ति दिलाउनु माग गरेका छन् ।

एमसीसी सम्झौता विरुद्ध फागुन १२ गते विप्लव नेतृत्वको नेकपा सहित ६ दलीय गठबन्धनले गरेको नेपाल बन्दमा अवस्थीको गोली हानेर हत्या गरिएको भन्दै विभिन्न मिडयामा समाचार प्रकाशन भएका थिए । फेसबुकमा उनको मृत्यु भएको उल्लेख गरी सरकार विरुद्ध आक्रोश व्यक्त गरिएको थियो ।प्रहरीको साइबर ब्युरामो दिइएको जाहेरीमा अवस्थीले समाचार प्रकाशन प्रसारण गर्ने मिडियाको नाम सहित उल्लेख गरेका छन् ।

उनले सामाजिक द्वैष फैलाउने गलत नियत राखेर प्रचार गरिएको दाबी सहित विद्युतीय कारोबार ऐन २०६३ अनुसार अनुसन्धान गरी कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् ।भीमदत्त नगरपालिका ६ का अवस्थी अखिल क्रान्तिकारीको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कमिटीका अध्यक्ष हुन् । सानैदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका छन ।

 

प्रतिक्रिया दिनुस