कञ्चनपुर , निर्वाचन आयोगले बैशाख ३०गते हुन लागेको स्थानीय तह चुनावमा उम्मेदवार हुँदा स्वघोषण गर्नुपर्ने भनेको छ । आयोगले वुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहमा ठेक्कापट्टामा संलग्न नरहेको उम्मेदवारले स्वघोषणा गर्नुपर्ने भनेको हो ।
उम्मेदवारले मनोनयन दर्ता गर्नुअघि लिखित स्वघोषणा पत्र पनि पेश गर्नुपर्ने आयोगले जनाएको छ । ‘कुनै स्थानीय तहको ठेक्कापट्टा वा चलअचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नभएको’ उम्मेदवारले स्वघोषणा गर्नुपर्ने हुन्छ ।
आयोगले संविधान तथा निर्वाचनसम्बन्धी प्रचलित कानुनी व्यवस्थासमेतको आधारमा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने प्रचलित कानुनबमोजिम योग्यता पुगेको कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने र आफूले गरेको स्वघोषणाप्रति उम्मेदवार स्वयम जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था गरेको छ ।
नेपालको संविधानप्रति निष्ठावान रहेको, २१ वर्ष पूरा भएको नेपाली नागरिक, गाउँ वा नगरमा मतदाता नामावलीमा नाम भएकोलगायत स्वघोषणा गर्नुपर्नेछ । साथै सरकारी संस्थामा बाहल नरहेको, प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीमा नाम नरहेको पनि स्वघोषणा गर्नुपर्ने आयोगको भनाइ रहेको छ ।यस्तो छ आयोगको प्रेस नोट