कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिकामा जमिन नापजाँच शुरु गरिएको छ । भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिन दिनका लागि लालझाडीमा जमिन नापजाँच शुरु गरिएको हो । बिहीबार लालझाडी गाँउपालिका ६ नम्बर वडादेखि जमिन नापजाँच शुरु गरिएको गाँउपालिकाले जनाएको छ ।
लालझाडी गाँउपालिका ६ का वडाध्यक्ष फुलाराम चौधरीले एक कार्यक्रमका विच भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बासोबासीलाई जमिन दिनका लागि नापजाँच शुरु गरिएको बताए । जमिन नापजाँचको शुभारम्भ गर्दै लालझाडी गाँउपालिका प्रमुख मदनसेन बडायकले गाँउका सबै जनता जमिनको मालिक बनाईने बताए ।
‘अब कोहीपनि लालझाडीका जनता भूमिहिन हुने छैनन, ‘गाँउ प्रमुख बडायकले भने, ‘भूमिहिन दलित र सुकुमबासीलाई जमिन र अव्यवस्थित बसोबासी जनतालाई लालपुर्जा दिलाउँछौँ ।’ सबै प्रकृतिका भूमिहिन समस्या भएका जनतालाई जमिनको स्वामित्व हस्तान्तरण गराउने प्रमुख बडायकले बताए ।
‘हामीले चुनावका बेलामा पनि सबै जनतालाई जमिन दिने चुनावी एजेण्डा थियो, ‘उनले भने, ‘त्यही स्प्रीड अनुरुप हामीले काम अघि बढाएका छौँ ।’ राष्ट्रिय भूमि आयोग र गाँउपालिकाले लालझाडीमा झण्डै ४ हजार परिवार लाभान्वित हुनेछन । ६ नम्बर वडादेखि नापजाँच शुरु गरेर सबै वडाहरुमा जमिन नापजाँच गरेर अघि बढ्ने प्रमुख बडायकले बताए ।
नापजाँच कार्यक्रममा लालझाडी ६ का वडाध्यक्ष फुलाराम चौधरी, उप प्रमुख सत्यादेवी महरा, प्रमुख मदनसेन बडायक, राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य राज कुमार चौधरी , प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिह रावल सहितका जनप्रतिनिधी, कर्मचारी, नागरिक समाज राजनीतिक दलको सहभागिता रहेको थियो ।