– हस्तबहादुर केसी,
हामी क्रान्तिकारी कम्युनिस्टहरुले माक्र्सवाद – लेनिनवादको अध्ययन किन गर्ने ? क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता – कार्यकर्ताहरुले मालेमावादको अध्ययन किन गर्ने ? आम मुक्तिकामी जनता तथा सर्वहारा श्रमजीवी वर्गले मालेमाबादको अध्ययन किन गर्ने ?
“ सबै चीजको निर्धारण विचारले गर्दछ । – माओ त्सेतुङ
यो प्रश्न एक दार्शनिक प्रश्न हो । यो एक सैध्दान्तिक प्रश्न हो । यो एक वैचारिक प्रश्न हो । यो एक राजनीतिक प्रश्न हो । सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरूका लागि साँच्चिकै महत्वपूर्ण प्रश्न हो । यो साँच्चिकै देश र जनताको मुक्तिसंग जोडिएको प्रश्न हो ।हामी क्रान्तिकारी कम्युनिस्टहरूले मालेमावादको अध्ययनको विषयलाई गंभीर्तापूर्वक लिनैपर्छ । हामी क्रान्तिकारी कम्युनिस्टहरूले मालेमावादको अध्ययनको विषयलाई एउटा जीवनपध्दति र जीवन कार्यशैलीका रुपमा ग्रहण गर्नैपर्छ । यसो गरिएन भने साँच्चिकै क्रान्तिकारी कम्युनिस्ट बन्न सकिदैन ।
बरु यसको ठिक उल्टो चरम अवसरवादी बनिन्छ । यसको ठिक उल्टो दक्षिणपन्थी संशोधनवादी बनिन्छ । यसको ठिक उल्टो देश , जनता , पार्टी र क्रान्तिका लागि लाल गध्दार बनिन्छ । यसको ठिक उल्टो राष्ट्रघाति – जनघाति मात्रै होइन देशबेचुवा राष्ट्रिय गध्दार भइन्छ । र , अन्तिममा प्रतिक्रियावादी कित्ता पुगेर सिध्दिने कुरा आउँछ ।त्यसैले क्रान्तिकारी कम्युनिस्टहरूले , कम्युनिस्ट पार्टीका नेता – कार्यकर्ताहरुले , सारा सर्वहारा श्रमजीवी वर्ग र आम मुक्तिकामी जनसमुदायले माक्र्सवाद – लेनिनवाद – माओवादको गहण अध्ययन र मालेमावादलाई व्यवहार मै जीवनपध्दतिका रुपमा आत्मसात गर्न जरुरी छ ।पहिलो कुरा चीजलाई नबुझीकन त्यसविषयमा जान्ने कुरै भएन । त्यसो भएर पहिलो नम्बरमा माक्र्सवाद के हो ? लेनिनवाद के हो ? माओवाद के हो भन्ने कुरा बुझ्न र जान्न आवश्यक हुन्छ ।
माक्र्सवाद भनेको के हो ?
यस विषयमा छलफल गरौं । माक्र्सवाद भनेको कार्ल माक्र्स ( सन १८१८ – १८८३ ) र फ्रेडरिक एंगेल्सद्वारा सन १८४८ फेब्रुअरी २१ दिन कम्युनिस्ट लिग मार्फत् लण्डनबाट जारी गरिएको कम्युनिस्ट घोषणापत्रलाई बुझ्नु पर्यो । त्यही माक्र्स – एंगेल्सले सन १८४८ फेब्रुअरी २१ का दि लण्डनबाट जारी गरिएको विश्वविख्यात कम्युनिस्ट घोषणापत्र पत्र नै सर्वहारा श्रमजीवी वर्गको , रगत र पसिना बिक्री गरेर बाँच्ने वर्गको मुक्तिको सिध्दान्त बन्यो । अर्थात् त्यही कम्युनिस्ट घोषणापत्र मार्फत् माक्र्स – एंगेल्सले माक्र्सवादको प्रतिवादन गर्नु भयो ।
माक्र्सको दर्शन द्वन्द्वात्मक भौतिकवादी र ऐतिहासिक भौतिकवादी दर्शन हो । यो नै सर्वहारा वर्गको विश्वदृष्टिकोण हो । हरेक वस्तुको सिध्दान्त र पध्दति हुन्छ । माक्र्सवादको सिध्दान्त भौतिकवाद हो भने माक्र्सवादी दर्शनको पध्दति द्वन्द्ववाद ।
माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । माक्र्सवाद पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद , अतिरिक्त मूल्यको सिध्दान्त , वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको मूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद माक्र्सवादका आधारभूत मान्यता हुन् ।
विश्व सर्वहारा वर्गका महान् नेता लेनिनलेको भनाइअनुसार “माक्र्सवाद भनेको माक्र्सका विचार र उनका शिक्षाको व्यवस्थित श्रृङखला हो । माक्र्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्री र वैज्ञानिक समाजवादका ती संघटक तत्वहरुको सश्लेषणबाट बनेको छ ।”
माक्र्सवादले पदार्थ , प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्दछ । माक्र्सवादले चेतनालाई वस्तुजगतको आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य बताउँछ ।
माक्र्सले ऐतिहासिक भौतिकवादमा सामाजिक सत्ता र सामाजिक चेतना, उत्पादन शक्ति र उत्पादन सम्बन्ध , आधार र उपरिसंरचना तथा उत्पीडक र उत्पीडित वर्गका बीचको संघर्षको मान्यता प्रस्तुत गर्नुभएको छ । माक्र्सको राजनीतिक अर्थशास्त्र, श्रमको मूल्य सिध्दान्तमा आधारित रहेको छ । माक्र्सको वैज्ञानिक समाजवाद – वर्गसंघर्ष, इतिहासमा बलप्रयोगको भूमिका, सर्वहारा वर्गको अधिनायकत्व र साम्यवादका आधारभूत मान्यताहरुद्वारा निर्मित भएको छ ।
दर्शन युग सापेक्ष हुन्छ । त्यसो भएर नै कार्ल माक्र्सले दर्शनशास्त्रलाई आफ्नो समयको “ बौद्धिक सार” , “संस्कृतिको जीवित तत्व” भन्नुभएको छ । – कार्ल माक्र्स – फ्रडरिक एंगेल्स , संकलित रचना संग्रह , खण्ड १ , पृष्ठ १०५ ।
लेनिनवाद भनेको हो ?
हामीले लेनिनवादका विषयमा गहन अध्ययन गरेर जानकारी हासिल गर्न जरुरी छ । लेनिनवाद (१८७० – १९२४) माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण हो । पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु , उत्पादक शक्ति , सर्वहारा आन्दोलन तथा ज्ञान – विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानू र यसप्रकारको नयाँ परिस्थिति अनुरुप माक्र्सवादलाई नयाँ उचाइमा विकसित गर्नपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवाद जन्मिएको हो।
लेनिनले जुन राजनीतिक अर्थशास्त्रका पुँजीवादको चरम विकास साम्राज्य हो र साम्राज्यवाद भनेको मरनासन्नापुँजीवाद हो , सढेगलेको पुँजीवाद हो र साम्राज्यवाद भनेको सर्वहारा क्रान्ति
( वैज्ञानिक समाजवादी क्रान्ति) को पूर्वबेला भन्नु भयो र संगठनका क्षेत्रमा जुन जनवादी केन्द्रीयताको सिध्दान्त प्रतिपादन गर्नु भयो । यो नै लेनिनवाद हो ।
स्टालिनले “लेनिनवाा भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो” भन्नुभएको छ । लेनिनवादका बारेमा स्टालिनले अझै अगाडि बढेर भन्नुभएको छ , “लेनिनवाद भनेको सामान्यतः सर्वहारा क्रान्तिको सिध्दान्त तथा कार्यनीति र विशेषतः सर्वहारा वर्ग अधिनायकतन्त्रको सिध्दान्त र कार्यनीति हो ।” – लेनिनवादका आधारहरु – स्टालिनका छानिएका रचनाहरु पृ. ९० , पैरवी प्रकाशन काठमाडौं , २०६४ ।
लेनिनवादको सिध्दान्त , विश्वदृष्टिकोण र शिक्षाका बारेमा कमरेड माओले भन्नुभएको छ, “लेनिनवादको सिध्दान्तले माक्र्सवादको विकास गरेको छ । यो कुन सन्दर्भमा भएको छ ? प्रथम विश्वदृष्टिकोणमा , भौतिकवाद र द्वन्द्ववादमा र द्वितीय क्रान्तिको सिध्दान्त र कार्यनीतिमा विशेषतः वर्गसंघर्ष, सर्वहारा वर्गको अधिनायकत्व र सर्वहारा वर्गको राजनीतिक पार्टीका प्रश्नहरुमा र यसका साथै वैज्ञानिक समाजवादी निर्माणमा लेखिएका शिक्षाहरु रहेका छन् ।”
माओवाद भनेको के हो ?
माक्र्सवाद – लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । सामन्तवादी– साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरुका क्रान्तिका समस्याहरुको समाधान गर्नुपर्ने , सन १९५३ मा स्टालिनको मृत्यु पश्चात् रुस एवं पूर्वी युरोपका कैयौं देशहरूमा पुँजीवादकोपुनःस्थापनाका कारणहरुको खोज गरी त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न वैज्ञानिक समाजवादी समाजका अन्तर्विरोधहरुको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरुद्धको लडाइँ लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा माक्र्सवाद – लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई माक्र्सवाद – लेनिनवादको तेस्रो , नयाँ र गुणात्मक उचाइमा पुर्याउने काम भयो ।
लेनिनद्वारा माक्र्सवादलाई त्यसको समग्रतामा विकासको दोस्रो चरण लेनिनवादको चरणमा पुर्याउने काम भयो । आज यो विज्ञान संघर्ष कै क्रममा विकासको तेस्रो , नयाँ र उच्च चरणमा पुगेको छ । यो तेस्रो, नयाँ र उच्च चरण कमरेड माओद्वारा विकास गरिएको माओवादको चरण हो ।यसरी आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिध्दान्तको सिंगो अभेद्य ईकाइको रुपमा माक्र्सवाद – लेनिनवाद – माओवाद रहेको छ । यसरी आज माओवाद सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिध्दान्तको रुपमा स्थापित र विकसित हुन पुगेको छ ।माओवादलाई आजको विश्वको माक्र्सवाद – लेनिनवादको रुपमा नगरीकन कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्तैन । आजको विश्वको माक्र्सवाद – लेनिनवाद भएकोले नै संसारभ,का प्रतिक्रियावादी , संशोधनवादीहरुले माओवाद एवं माओवादीहरुमाथि भीषण हमला गरिरहेका छन् ।
कम्युनिस्ट क्रान्तिकारीहरुले मालेमावादको अध्ययन किन गर्ने ?
अब हामी क्रान्तिकारी कम्युनिस्टहरूले , क्रान्तिकारी कम्युनिस्टलपार्टीका नेता – कार्यकर्ताहरुले , विश्व सर्वहारा वर्ग र आम उत्पीडित जनसमुदायले किन मालेमावादको गहिरो अध्ययन गर्नु पर्दछ त ? भन्ने विषयमा छलफल गर्ने छौ ।हामीले माथि पनि धेरै ठाउँमा उल्लेख गरिसकेका छौ कि माक्र्सवाद अर्थात् मालेमावाद सर्वहारा श्रमजीवी वर्गको मुक्तिको सिध्दान्त र उसको विश्वदृष्टिकोण हो भन्ने बारेमा जानकारी लिइसकेका छौं ।मालेमावादको अध्ययन किन गर्नुपर्ने ? त्यसबाट हामीलाई के फाइदा हुन्छ ? अथवा मालेमावादले हामीलाई कुन कुरा प्रदान गर्दछ ?मालेमावादको अध्ययनले प्रथमतः हामीलाई विश्वदृष्टिकोण पैदा गर्दछ , विश्वलाई हेर्ने, बुझ्ने, व्याख्या – विश्लेषण गर्ने र अन्तिममा त्यसलाई बदल्ने बाटोमा पथप्रदर्शन गर्ने काम गर्दछ ।
क्रान्तिकारी कम्युनिस्टहरू सामान्यतः मालेमावादको अध्ययनमा बल दिने गर्दछन् ।त्यसो गर्नुमा एउटा मुख्य कारण के हो भने मालेमावाद यस्तो चीज हो , जसले हामीलाई सैध्दान्तिक ढंगले कसरी सोच्ने , सैध्दान्तिक धरातलमा उभिएर परिघटननहरुलाई कसरी हेर्ने भन्ने कुरा सिकाउछ ।र, विश्वमा रहेका कुनै पनि वस्तु र घट्ने कुनै पनि परिघटनालाई चिन्न , बुझ्न , त्यसको अध्ययन विश्लेषण गर्नका साथै त्यसलाई बदल्ने वैज्ञानिक साधन भएकोले क्रान्तिकारी कम्युनिस्टहरू मालेमावादको गहन अध्ययन गर्ने र त्यसलाई आत्मसात गरेर वास्तविक जीवन व्यवहारमा लागु गर्नु सबैभन्दा महत्वपूर्ण कर्तव्य हो ।मालेमावादले विश्व सर्वहारा वर्गलाई कस्तो प्रकारको ज्ञान ( शिक्षा ) दिन्छ त ? भन्ने कुरामा माक्र्स – लेनिन – माओ स्वयंले भन्नुभएको कुराहरुबाट स्पष्ट हुन सकिन्छ ।
भनिन्छ सर्वहारा वर्गले संसारलाई ठिकशीत बुझ्ने र त्यसलाई फेर्ने एक अचूक बौद्धिक भेटाउछ । लेनिनले त्यसको महत्वलाई यसरी दर्साउनु भएको छ , “ माक्र्सको दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो , जसले मानवजातिलाई र खास रुपले मजदुर वर्गलाई ज्ञानका शक्तिशाली आौजारहरु प्रदान गरेको छ । ” – लेनिन , संकलित रचनाहरु , भाग १९ , पृ . २५ ।
दर्शनको महत्व बारे माक्र्सले स्वयं लेख्नुभएको छ , “ जसरी दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ , त्यसरी नै सर्वहारा वर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ । ” – माक्र्स – एंगेल्स , संकलित रचनाहरु , भाग ३ , पृ. १८७ ।
त्यस्तै माक्र्सवादको दार्शनिक पक्षको महत्वलाई कमरेड माओले निम्न रुपमा दर्साउनु भएको छ , “ माक्र्सवाद ज्ञानका अनेक शाखाहरुबाट बनेको छ ः माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात् वर्गसंघर्षको सिध्दान्त , तर जग चाहिँ माक्र्सवादी दर्शन हो । यदि त्यसलाई मनन गरिँदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुनेछैन , हामी चीजहरुलाई स्पष्ट नपारिकन यताउताको कुरा उठाई तर्क मात्र गरिरहेका हुनेछौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन गरिसके पछि थुप्रै दुःखहरुकाट जोगिने छ र धेरै गलतीहरु हट्ने छन् ।” – माओ त्सेतुङ , चुनिएका रचनाहरु , अंग्रेजी संस्करण , भाग ५ , पृष्ठ १६० ।
कम्युनिस्ट क्रान्तिकारी बन्नका लागि धेरै गहिरो ज्ञान चाहिन्छ । माक्र्सवादका साथै समाजविज्ञानको क्षेत्रमा , राजनीतिक अर्थशास्त्रका क्षेत्रमा , दर्शनका क्षेत्रमा , वैज्ञानिक समाजवादका क्षेत्रमा , इतिहासको क्षेत्रमा , भूगोलको क्षेत्रमा , प्रकृतिको क्षेत्रमा ि गहिरो ज्ञान हुन जरुरी हुन्छ । किनभने कम्युनिस्ट भनेको सबैभन्दा सचेत नागरिक हो । त्यसैले उनले धेरै कुराको बारेमा ज्ञान हासिल हुन जरुरी हुन्छ । उनले विश्वलाई , सारा संसारलाई चिन्नु मात्र होइन , त्यसलाई बदल्ने दायित्व एउटा क्रान्तिकारी कम्युनिस्टको हुने भएकोले उनले संसारका धेरै विषयमा जानकारी लिन जरुरी हुन्छ । त्यस सम्बन्धि विषयमा ज्ञान प्राप्त गरेकै हुनुपर्छ । ती ज्ञान हासिल गर्ने र सिकाउने भने कै मालेमावाद जस्तो अर्को कुनै दर्शन र सिध्दान्त छैन यस वसतुगत जगतमा ।त्यसैले एउटा अब्बल दर्जाको क्रान्तिकारी कम्युनिस्ट योध्दा बन्नका मालेमावादको आधारभूत सैध्दान्त (विज्ञान) अर्को छैन यस वसतुगत जगतमा ।
मालेमावादको गहन अध्ययन गर्ने र वैज्ञानिक ज्ञान आर्जन गरेर सच्चा क्रान्तिकारी कम्युनिस्ट बन्नु भन्दा पनि टपर्टुँया ज्ञानको आधारमा कम्युनिस्ट क्रान्तिकारी बन्ने र कम्युनिस्ट पार्टीको नेता , बनाउने जुन संस्कारको विकास भएको पाइन्छ , यो संस्कार र पध्दति गलत गैर माक्र्सवादी मानिन्छ । यो ठूलो विकृति र विसंगति हो , जसले देश , जनता , पार्टी र क्रान्तिलाई ठूलो नोक्सानी पुर्याउँछ । एउटा सच्चा क्रान्तिकारी कम्युनिस्टले यसप्रकारको चिन्तन , सोंच , कार्यशैलीलाई तुरुन्तै त्याग्नु उपयुक्त हुन्छ ।मालेमावादको गहिरो ज्ञान आर्जन कठिन परिश्रमका बीचबाट मात्र प्राप्त गर्न सकिन्छ । हल्काफुल्का तथा टपर्टुँया अध्ययनको कार्यशैलीले , जीवन शैलीले मालेमावादको गहिरो ज्ञान आर्जन गर्न सम्भव हुँदैन । यसविषयमा क्रान्तिकारी कम्युनिस्टहरू सजक, सतर्क रहन जरुरी हुन्छ ।
एउटा क्रान्तिकारी कम्युनिस्ट योध्दा बन्न र आजीवन क्रान्तिकारी भइरहनका निम्ति मालेमावादको गहन अध्ययनलेफ मात्र प्रयाप्त हुदैन , मुख्यतः उनले भीषण वर्गसंघर्ष र वैचारिक संघर्षमा भाग लिन जरुरी हुन्छ । एउटा क्रान्तिकारी कम्युनिस्ट योध्दालाई खार्ने भने कै वर्गसंघर्ष र वैचारिक संघर्षमा होमिएको हुनुपर्छ भन्ने माक्र्सवादी मान्यता छ । एउटा क्रान्तिकारीलाई क्रान्तिकारी बनाई राख्ने मुख्य आधार वर्गसंघर्षमा निर्भीक रुपमा भाग लिनु हो भन्ने कुरालाई कुनै पनि क्रान्तिकारी कम्युनिस्ट कहिल्यै पनि भुल्नु हुँदैन ।
एउटा सार्वभौम सवाल के हो भने कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी विचार त प्रमुख हो । यसका साथै जनता पनि क्रान्तिकारी भइरहन जरुरी हुन्छ भने कम्युनिस्ट पार्टीका नेताहरु क्रान्तिकारी भइरनलाई कार्यकर्ताहरु पनि क्रान्तिकारी हुन जरुरी हुन्छ । नेपालको सन्दर्भमा यी पछिल्ला दुईवटा पक्षहरु नभए कै कारण विभिन्न कालखण्डमा नेतृत्व गरेका कम्युनिस्ट पार्टीका नेताहरु वैचारिक विचलन पर्ने , गंभीर खतर्नाक खालका अवसरवादी बन्ने गरेका र आन्दोलन , देश ,जनता र क्रान्तिकारीलाई धोका दिएका मात्र होइनन् क्रान्ति र जनता प्रति नै गध्दारी गरेका थुप्रै उदाहरणहरु हाम्रो सामु जीवितै छन् ।
अध्ययन भनेको ज्ञान आर्जन गर्नु हो । अध्ययन ज्ञान प्राप्तिको साधन हो । त्यसैले अध्ययन गर्ने दुईवटा तरिका छन् । पहिलो तरिका हो – स्वअध्ययनको तरिका । दोस्रो तरिका हो – पार्टी स्कुलिङको तरिका । अध्ययन गर्ने स्वअध्ययनको तरिका पनि महत्वपूर्ण तरिका हो । तर कम्युनिस्ट क्रान्तिकारीहरुले पार्टीले व्यवस्था गरेको पार्टी स्कुलिङको तरिकाबाट अनुशासित , योजनाबध्द र व्यवस्थित ढंगले अध्ययन गर्ने पध्दतिलाईे नै सबैभन्दा वैज्ञानिक तरिका मानिन्छ ।यहाँ अध्ययन गर्ने भनेको कोरा ज्ञान आर्जन गर्ने भनिएको होइन , वैज्ञानिक ज्ञान आर्जन गर्ने , मालेमावादका विषयमा गहन अध्ययन गर्ने भनिएको हो ।अर्थात् क्रान्तिकारी विचार , सिध्दान्त र दर्शनका बारेमा अध्ययन गर्ने भनिएको हो । किनभने भनिन्छ “ विचारविनाको मान्छे जराविनाको रुखसरह हुन्छ ” , त्यसैले कमरेड माओले भन्नुभएको हो , सबै चीजको निर्धारण विचारले गर्दछ । कमरेड माओको भनाइबाट पनि यो कुरा स्पष्ट हुन्छ कि हामी क्रान्तिकारी कम्युनिस्टहरूले सही विचार आत्मसात गर्नका लागि , क्रान्तिकारी विचार आत्मसात गर्नका लागि पनि माक्र्सवाद – लेनिनवाद – माओवादको गहन अध्ययन गर्न जरुरी छ ।
बुर्जुवाहरुले , प्रतिक्रियावादीहरले, संशोधनवादी हरुले पनि मालेमावादको अध्ययन गरेका हुन्छन् । उनीहरूले आफ्ना कार्यकर्तहरु प्रशिक्षण दिने गरेका हुन्छ । त्यो उनीहरूको त्यो अध्ययन र प्रशिक्षण देश र जनताको हितका खातिर नभर विरुद्धमा गरेका हुन्छन् भने क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता – कार्यकर्ताहरुले मालेमावादको अध्ययन र स्कुलिङ गर्ने , गराउने भनेको संसारलाई बुझ्ने र त्यसलाई बदल्ने वैज्ञानिक ज्ञान प्राप्त गर्ने रहेको हुन्छ ।
कम्युनिस्ट क्रान्तिकारीहरुले मालेमावादको अध्ययन गर्नेु मात्र प्रमुख कुरा होइन , माथि भनिएको छ कि गैर क्रान्तिकारीले , बुर्जुवाहरुले , प्रतिक्रियावादीहरुले , संशोधनवादीहरुले पनि गरेका हुन्छन् । कम्युनिस्ट क्रान्तिकारीहरुले गरेको मालेमावादको गहिरो गरी अध्ययन गरेर त्यसलाई आत्मसात गर्दै व्यवहारिक रुपमा जीवन व्यवहारमा लागु गर्नु नै प्रमुख कुरा हो ।एउटा कम्युनिस्ट क्रान्तिकारीले वर्गीय समाजमा चल्ने वर्गसंघर्ष र क्रान्तिकारी कम्युनिस्ट पार्टी भित्र चल्ने वैचारिक (दुईलाईन) संघर्षमा होमिने आँट गर्दैनन् भने उनले गरेको मालेमावादको अध्ययनको कुनै अर्थ छैन ।नौलो संसार निर्माण गर्ने आँट गरेका मालेमावादी क्रान्तिकारी कम्युनिस्टहरुले मालेमावादको अध्ययन गर्नु अति जरुरी छ । किनभने मालेमावाद भनेको विश्वलाई चिन्ने र बदल्ने सैद्धान्तिक, दार्शनिक हतियार हो ।
(केसी – वरिष्ठ माक्र्सवादी लेखक र नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय पार्टी स्कुल विभागका सचिव हुन् ) ।