कञ्चनपुर । अघिल्लो निर्वाचनमा बेलौरी नगरपालिकामा मेयरको टिकट नपाएर एमाले छाडेका यज्ञ कँडेल पाँच वर्षपछि फेरि स्थानीय तह निर्वाचनमा एमाले फर्किएका छन् । नेकपा माओवादी केन्द्र छाडेर कँडेल आफ्नी धर्मपत्नि राधा कँडेल सहित एमाले फर्किएका हुन् ।

कँडेल दम्पत्ति यस पटक माओवादी केन्द्रबाट बेलौरी नगरपालिकाको मेयर उप मेयरमा आकाँक्षी देखिएका थिए । माओवादी केन्द्रले उनीहरु दुबैको आकाँक्षा अनुसार टिकट नदिएपछि उनीहरु पार्टी छाड्न पुगेका छन् ।

निर्वाचनमा यज्ञ कँडेलले मेयर र उनकी धर्मपत्नि राधाले उप मेयरमा आकाँक्षा राखेकी थिइन । एमाले छाडेर माओवादी गएपछि कँडेल पत्नि राधा २०७४ मा बेलौरी नगरपालिकाको उप मेयरमा चुनाव लडेकी थिइन् । माओवादी केन्द्रले यस पटक बेलौरीको मेयरमा पोतिलाल चौधरी र उप मेयरमा मन्ज शाहलाई उम्मेदवार बनाएको छ ।

२०७४ को निर्वाचनमा एमालेले जिल्ला कमिटी सचिव पल्लवराज भट्टलाई मेयरको उम्मेदवार बनाएको थियो । यस पटक पनि भट्टलाई मेयरको उम्मेदवार बनाउन गरिएको जिल्लाको सिफारिश मिचेर एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले सिफारिश नभएकी कमला बोहरालाई मेयरको उम्मेदवार बनाएको छ ।

एमाले मेयरकी उम्मेदवार बोहराको अध्यक्ष केपी शर्मा ओलीसम्म पहुँच छ । ओलीसित पहुँचका आधारमा टिकट पाएपछि एमाले बेलौरीमा अघिल्लो निर्वाचन भन्दा कमजोर अवस्थामा पुगेको नेताहरु बताउँछन् । अघिल्लो निर्वाचनमा मेयरको टिकट नपाएर असन्तुष्ट हुँदैै प्रदेश सभा सदस्यमा बागी लडेका एमालेका नेता राजेन्द्र प्रसाद जोशी माओवादी केन्द्र गएका छन् ।

एमालेले जोशीलाई प्रदेश सभा सदस्यको टिकट नदिएपछि उनी बालक चुनाव चिन्ह लिएर लडेका थिए । बेलौरीको खुला मञ्चमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले कँडेल सहित विभिन्न दलका नेता कार्यकर्तालाई टीका लगाएर पार्टीमा स्वागत गरेका छन् ।

कडेलको एमाले फकिएमाले बेलोरीका नेता भन्छन, उतिबेला पल्लव हराउन माओवादी गएका अहिले के मुखले एमालेमा फर्किएका छन । एमाले प्रवेश गर्नेमा कँडेल दम्पत्ति सहित नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश सदस्य केशव कडेल, बेलौरी नगरपालिका ४ का समाजवादीका वडा अध्यक्षका उम्मेदवार पुनम श्रेष्ठ, बेलौरी २ मा राप्रपाका वडा अध्यक्षका उम्मेदवार दिपक सिह लगायतका दुई सय ५० जना एमाले प्रवेश गरेको नगर कमिटी अध्यक्ष बाुबराम न्यौपानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुस