कैलाली भाद्र ६ , कैलालीको टीकापुरमा हुने थारुवान र थरुहटको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न नेकपा ( क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्य‘किरण’ कैलालीको टिकापुर पुगेका छन् । महासविच किरण शनिबार हुने सम्मेलनलाई सम्बोधन गर्न शुक्रबार नेपालगञ्ज हुँदै कैलालीको टिकापुर पुगेको छन । भदौ ७, ८ र ९ गतेका थारुवान र थरुहटको राष्ट्रिय सम्मेलन हुने भएको छ ।

टिकापुर घटनामा थारु समुदायमाथि भएको राज्यको दमनको विरोध गर्दै आएका क्रान्तिकारी माओवादीका महासचिव किरण आयोजकहरुको अनुरोध र निमन्त्रणामा नै सम्मेलनलाई सम्बोधन गर्न कैलालीको टिकापुर पुगेको छन । टिकापुर घटनामा जेल सजाय काटिरहेका रेशम चौधरीको स्वास्थ्य स्थिति बुझ्न जाँदा रेशम चौधरीले समेत महासचिव किरणलाई सम्मेलनमा सम्बोधनका लागि अनुरोध गरेका थिए । क्रान्तिकारी माओवादीले टिकापुर घटनालाई राजनीतिक रुपमा हेरिनु पर्ने र त्यही रुपमा हल गरिनु पर्ने भन्दै आवाज उठाउँदै आएको छ र थारुहरुको राजनीतिक अधिकारको लागि संघर्षको विकल्प नरहेको चर्चा गर्दै आएको छ ।

भदौ ७ त्यही दिन हो, जुन दिन टीकापुरमै ७ जना प्रहरी र एक नाबालकको हत्या भएको थियो । २०७२ साल भदौ ७ गते भएको उक्त हत्याकाण्डकै दिन पारेर थारुहरुको सम्मेलन आयोजना हुनुले टीकापुरमा त्रास बढाएको भनिए पनि आयोजकहरुले सम्मेलन शान्तिपूर्ण हुने बताएका छन् । यता जिल्ला सुरक्षा समितिले सुरक्षा सतर्कता अपनाउँदै टीकापुरमा ६ सय सुरक्षाकर्मी परिचालन गरेको बुझिएको छ ।

सम्मेलन आयोजक समितिका संयोजक मिनराज थारुले थरुहट एकता, संघर्ष र विकल्पका विषयमा छलफल गर्न र भदौ ७ गतेलाई विद्रोहको दिनका रुपमा मनाउन तथा सामाजिक सद्भाव बिग्रेको कुरा चिर्नका लागि सम्मेलनको आयोजना गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुस