कञ्चनपुर जेठ २२ । कञ्चनपुरको बेलौरी नगरपालिकाको सडक घाटमा लालपुर्जा भएको जमिन जोत्न दिइने भएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बेलौरी नगरपालिका–१० सडक घाटमा नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने भएको हो । नेपाल–भारतका सीमा सुरक्षाकर्मीबीच लालपुर्जा भएको जमिन नेपाली नागरिकलाई जोत्न दिने सहमति भएको हो ।

दुवै देशका सर्भे टोलीले अनुगमन नगर्दासम्म नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने सहमति भएको सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर ऐरले बताउनु भयो । उहाले सर्भे टोलीले अनुगमन गरेर समस्या समाधान नगर्दासम्म लालपुर्जा भएका नागरिकलाई जोत्न दिने सहमति भएको बताउदै अब नेपाली नागरिकले आफ्नो भूमि जोत्न पाउने बताउनु भयो ।

छलफलमा सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक अमरबहादुर ऐर नेतृत्वको टोली र एसएसबी ३९ नं. बटालियनका प्रमुख गोविन्द भण्डारी नेतृत्वको टोली सहभागि थियो । बुधवार ट्याक्टर लगेर खेत जोत्न गएका कञ्चनपुरको बेलौरी नगरपालिका–१० का निवर्तमान वडाध्यक्ष हरिलाल चौधरीलाई वर्षौदेखि भोगचलन गर्दै आएको जग्गामा एसएसबीले खेत जोत्न नदिई फर्काएपछि विवाद उत्पन्न भएको थियो । समयसमयमा नेपाल र भारतका सीमा क्षेत्रमा यस्ता समस्या हुने गरेका छन् ।

प्रतिक्रिया दिनुस